गृह पृष्ठ

कोशी प्रदेश सरकारले सभामुख र उपसभामुखको सुविधामा थप


८ आश्विन २०८१, मंगलबार ००:००


काठमाडाैँ, कोशी प्रदेश सरकारले प्रदेशसभाका सभामुख र उपसभामुखको सुविधा थप गरेको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ मा सभामुखले मासिक १५० र उपसभामखले १२५ लिटर पेट्रोल पाउने प्रावधान थियो ।

मन्त्रिपरिषद्को बैठकले सोही ऐनको दफा २० लाई टेकेर सभामुखका लागि मासिक २२५ लिटर र उपभामुखलाई मासिक १७५ लिटर इन्धन सुविधा दिने व्यवस्था गरेको हो । २७ भदौको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मितिमा राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले र सत्तापक्षको प्रमुख सचेतकले १२५–१२५ लिटर इन्धन मासिक पाउनेछन् । सभामुख र उपसभामुखले इन्धन सुविधा कम भएको गुनासो गरेपछि थप गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतले बताएको छ । प्रदेशसको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट र उपसभामुखमा एमालेकी सृजना दनुवार छिन् ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलबार ००:००