गृह पृष्ठ

चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट


२० मंसिर २०८१, बिहिबार ००:००


काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् । चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् ।

अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्छौ । हामीले प्राप्त गरेको कुरा ऋण होइन । कुरा पनि चलेको पनि छैन’, प्रधानमन्त्रीले भने, ‘सधैँ किन ऋण,ऋण,यो सारङ्गी किन बजेका छ ?’

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताएका छन । त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको जानकारी दिएका छन।

याे पनि पढनुहाेसः

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् । उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो ।

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो । चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने छन् । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि,वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए । उनले बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत दिएका थिए ।

प्रकाशित : २० मंसिर २०८१, बिहिबार ००:००