१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाए ।
सांसद ढुंगानाले कानूनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र अन्य समसामयिक घटनाहरूको सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।
‘हिजो पञ्चायतकालमा सिभिल ड्रेसमा आएर विना जानकारी गिरफ्तारी हुन्थ्यो, आज लोकतन्त्रमा पनि त्यस्तै अवस्था देखिनु चिन्ताजनक छ । दुई तिहाइको दम्भमा सरकारले स्वेच्छाचारी निर्णय लिइरहेको छ । जुनसुकै घटनामा सरकारले संसदलाई जानकारी दिनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व बिर्सन मिल्दैन,’ उनले भने ।
साथै, बाढीपीडितको अवस्था र पछिल्ला प्राकृतिक विपद्का घटनाहरूबारे पनि सरकार मौन रहेको भन्दै उनले जिरो आवरमा बोलेका कुराहरूको सुनुवाइ नभएको गुनासो गरे ।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा भने हुकुमी शासन लाद्न खोजेको ढुंगानाको जिकिर छ ।
लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली जनता र युवा पुस्ता बलिदान दिन पनि तयार रहेको चेतावनी दिँदै सरकारलाई सच्चिन आग्रह पनि उनले गरे ।











प्रतिक्रिया