गृह पृष्ठ

छविलाल जोशीसँग रुपन्देहीमा बयान सुरू


६ कार्तिक २०८१, मंगलबार ००:००


पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई कास्कीबाट सोमबार साँझ भैरहवा ल्याइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केहीबेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले बताएका छन । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेमराज पाैडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय राज पण्डित,अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धानका लागि पठाएको हो । जोशीलाई सकभर आज नभए भोलि कास्की नै पठाइने योजना रहेको प्रहरीले जनाएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, ललितपुरको मितेरी सहकारी ठगीका आरोपीहरूविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । रेड नोटिस जारी गर्न भनिएका आरोपीहरूमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ पनि छिन् । यो सहकारी ठगीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सीआइबीकै आग्रहमा प्रहरीको नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई पत्राचार गरेको हो ।

रेड नोटिस जारी गर्नका लागि पत्राचार गरिएका आरोपीहरूमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र मितेरी सहकारीकै ज्योतिबहादुर भण्डारी छन् । ठगी भएको समयमा ज्योयि गुरुङ सहकारीमा प्रबन्ध निर्देशक थिइन् । उनले भण्डारीसँग मिलेर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । मितेरी सहकारीबाट बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा देखिएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा सम्बन्धबिच्छेद गरिसकेको बताएका छन् । सम्बन्धविच्छेदको कागजात भए पनि उनीहरूले कागजी रूपमा नक्कली सम्बन्धविच्छेद गरेको आरोप छ किनभने धनराजले सम्बन्धविछ्छेदपछि पनि पूर्वपत्नीले चलाएको रकम तिर्दै आएको सहकारीका अध्यक्षले बताएका छन् ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार ००:००