मुख्य खवर

प्रदेश १ मा लिम्बू भाषा कार्यान्वयनमा बेलायतमा उत्सव अनि कलाकारलाई सम्मान


२८ कार्तिक २०८३, शुक्रबार ००:००


१२ नोभेम्बर ,आसफोर्ड बेलायत

लामो समयदेखिको संघर्ष, निरन्तर प्रयास र आन्दोलनपछि कोशी प्रदेशमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने घोषणा भएसँगै स्वदेश तथा विदेशमा खुसीयाली छाएको छ।

यस ऐतिहासिक उपलब्धिको खुसीयालीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बेलायतको आयोजनामा २०८३ कात्तिक २५ गते बेलायतको केन्टस्थित आस्फोर्डमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। युमा हेयर एन्ड ब्युटी शैलुनमा  बैठक कक्षमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गरी खुसीयाली साटासाट गरेका थिए।

प्रदीप आङ्बुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता तथा समुदायका अगुवाहरूको उपस्थिति थियो।दीप प्रज्वलनपछि आयोजित कार्यक्रममा वक्ताहरूले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने प्रदेश सरकारको निर्णय ऐतिहासिक र स्वागतयोग्य भएको बताए। उनीहरूले यस निर्णयले लिम्बुवान भूमि, लिम्बुवानी जनता तथा समग्र प्रदेशका भाषिक समुदायको पहिचान, अस्तित्व र अधिकारलाई सम्मान गरेको धारणा व्यक्त गरे।

 

लिम्बू भाषा र पहिचानको संरक्षण तथा अधिकार प्राप्तिका लागि विगतमा धेरै लिम्बुवानी योद्धाहरूले संघर्ष गरेको र कतिपयले सहादतसमेत प्राप्त गरेको स्मरण गर्दै वक्ताहरूले यो उपलब्धि लामो संघर्ष र बलिदानको प्रतिफल भएको बताए। खुसीयालीलाई थप सांगीतिक र उत्साहपूर्ण बनाउन नेपालबाट सांगीतिक यात्राका क्रममा बेलायत पुगेका कलाकारहरू दिपा सुहाङ, राजेन्द्र केरुङ र लक्ष्मण लिम्बूले लिम्बुवानको भावना, पहिचान र माटोको सुगन्ध बोकेका गीत प्रस्तुत गरेका थिए। उनीहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।

कार्यक्रममा आयोजक संस्थाका महासचिव सुरेन्द्र थेबेले विगतमा लिम्बू भाषामाथि भएका अन्याय, अत्याचार र दमनका विषय समेटिएको भावनात्मक कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायण आङ्बुहाङले गरेका थिए ।यस सन्दर्भमा कोशी प्रदेश सरकारले लिम्बू, मैथिलीलगायत १४ वटा भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने भाषाका रूपमा मान्यता दिएको विषयलाई पनि वक्ताहरूले भाषिक विविधता, समानता र मातृभाषा संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

 

नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्रका रूपमा स्वीकार गरेको छ। संविधानका धारा ३, ६, ७ र ३२ लगायतका व्यवस्थाले भाषा, संस्कृति, पहिचान तथा मातृभाषाको संरक्षण र प्रयोगसम्बन्धी अधिकार सुनिश्चित गरेका छन्। संविधानको यही भावना र मर्मअनुरूप भाषिक विविधताको सम्मान तथा मातृभाषाको संरक्षण र प्रवर्द्धनको दृष्टिले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

लिम्बू भाषा सञ्चारको माध्यम मात्र नभई एउटा समुदायको इतिहास, सभ्यता, संस्कृति, मुन्धुम, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो। त्यसैले सरकारी कामकाजमा यसको प्रयोगले भावी पुस्तामा मातृभाषाप्रतिको गौरव, अपनत्व र संरक्षणको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

 

आस्फोर्डमा आयोजित दीप प्रज्वलन कार्यक्रमले मातृभूमिबाट टाढा रहेर पनि आफ्नो भाषा, संस्कृति, पहिचान र अधिकारप्रतिको प्रतिबद्धता उत्तिकै बलियो रहेको सन्देश दिएको छ। यो खुसीयाली एउटा भाषाको उपलब्धिमा मात्र सीमित नभई भाषिक समानता, सामाजिक न्याय र पहिचानको सम्मानका लागि गरिएको लामो संघर्षको ऐतिहासिक उत्सवका रूपमा समेत लिइएको छ।

प्रकाशित : २८ कार्तिक २०८३, शुक्रबार ००:००