१३ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग खुलेको छ । राजमार्ग खुले पनि तत्कालका लागि साना सवारीसाधन मात्र सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले बगाएको स्थानमा डाइभर्सन बनेपछि सवारीसाधन सञ्चालनमा आएको जानकारी दिए ।
उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी-७ को घुमाउने, रोशी-११ र १२ को माम्तीमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको थियो भने नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेको थियो।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकीडाँडामा खोलाबाट र खोला भन्दा माथिबाट गरी दुई ठाउँबाट डाइभर्सन बनाइएको छ ।
अहिले साना सवारीसाधन र दिउॅसोदेखि सबै खाले सवारीसाधन पूर्ववत रूपमा सञ्चालनमा आउने जनाएको छ । ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबसका लागि भने अझै केही घण्टा पर्खनुपर्ने भएको छ।
प्रतिक्रिया