”हराएको कुकुर” नाटक एउटा रूपकात्मक यात्रा हो, जसले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीको पक्षपात, र नागरिक आवाजको दमनलाई उजागर गर्छ । सतही रूपमा कुकुर हराएको सामान्य घटनाबाट सुरू हुने यो कथा क्रमशः एउटा गम्भीर सामाजिक–राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ ।
नाटकको सुरुवातमा एक कुकुर हराउँछ । “सानो माछा ढडियामा, ठूलो माछा बढिएमा” भन्ने जनकथन यहाँ कानुनी प्रणालीको वास्तविक अनुहार बनेर प्रस्तुत हुन्छ । निर्दोष जनताले अन्यायको विरोध गर्दा उनीहरूलाई नै अपराधी ठहर गरिन्छ। अनुसन्धान गर्ने निकायहरू निष्पक्षता गुमाएर शक्तिशाली पात्रहरूका आज्ञाकारी बन्न पुग्छन् । प्रमाणहरू हराइन्छन्, घटना ढाकछोप गरिन्छ, र सत्यको स्वर दबाइन्छ ।
नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ, जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । हराएको कुकुर वास्तवमा राज्यद्वारा हराइएको सत्यको प्रतीक हो । नाटकले दर्शकहरूलाई चुनौती दिन्छ—के साँचो न्याय कहिल्यै भेटिन्छ त ? के नागरिक आवाजको दमनलाई राज्यद्वारा वैधता दिन सकिन्छ ? ”हराएको कुकुर” एउटा सरल खोजीको कथा मात्र होइन, यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झकझक्याउने, र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य रूपान्तरण हो ।












प्रतिक्रिया