Breaking News Post

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन


३० आश्विन २०८३, शुक्रबार ००:००


लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।
 

कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमति बिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए । उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए ।

कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारी बिना मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए । उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ ।

कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ । अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित : ३० आश्विन २०८३, शुक्रबार ००:००