गृह पृष्ठ

विद्यालयमा विद्यार्थी मृत भेटिए,स्थानीय बासिन्दाले गरे चक्काजाम


६ आश्विन २०८१, आइतबार ००:००


काठमाडाैँ, सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहसहितका स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बस्दै यातायात अवरुद्ध पारेका छन् । २ भदौमा सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत फेला परेको थियो ।

घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । मृतक रजनीशका बुवा गणेश साहका अनुसार घटनाबारे स्कुलले ढिलो जानकारी दिएका थिए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको उनको दावी छ ।

गणेशले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमार्टम रिपोर्ट माग्न जाँदा वकिल र डाक्टर उपस्थित गराएर मात्रै रिपोर्ट देखाउने भनेको बताए । त्यस्तै विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको उनको आरोप छ।

मृत्यु घटना पश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए । भदौ २१ मा सपहीमै सडक अवरुद्ध गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गर्ने आश्वासन दिए पनि अहिलेसम्म दर्ता नभएको वडाध्यक्ष साहको गुनासो छ । बाध्य भएर सडक अवरुद्ध गरेको वडाध्यक्ष साहले बताउँदै जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार ००:००