गृह पृष्ठ

हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन,विपद्को बेलामा समस्या


५ फाल्गुन २०८१, सोमबार ००:००


काठमाडौं, तीन जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) विहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङ, ओखलढुंगा र मकवानपुर गरी तीन जिल्ला सीडीओविहीन बनेका हुन् । आइतबार खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन थियो ।

विपद्को बेलामा सीडीओविहीन हुँदा नियन्त्रणमा समेत समस्या भएको थियो । करिब दुई साताअघि खोटाङका सीडीओ उमेरहदका कारण अवकाश भएपछि गृहमन्त्रालयले अहिलेसम्म कसैलाई पनि सीडीओ बनाएर खोटाङ पठाएको छैन ।

खोटाङकै छिमेकी जिल्ला ओखलढुंगा करिब डेढ महिनादेखि सीडीओविहीन छ । १६ पुसमा नारायण ढकालले अवकाश पाएपछि ओखलढुंगा पनि सीडीओविहीन बनेको छ । तर अहिलेसम्म गृह मन्त्रालयले सीडीओ पठाएको छैन ।

मकवानपुर पनि २ फागुनदेखि सीडीओविहीन बनेको छ । मकवानपुरका सीडीओ तिर्थराज चिलुवालको अर्थ मन्त्रालयमा सरुवा भएपछि मकवानपुर सीडीओविहीन भएको छ । हिउँदमा मुख्यगरी आगलागीका घटनाहरू हुने हुँदा विपद्को दृष्टिले निकै संवेदनशील मानिन्छ ।

तर गृहले अहिलेसम्म सीडीओको रुपमा कसैलाई पनि पठाएको छैन । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी जतिसक्दो चाँडो सीडीओ पठाउने तयारीमा मन्त्रालय रहेको बताउँछन् । गृहमा भने सहसचिवहरू जिम्मेवारविहीन भएर फुर्सदमा बस्दा समेत सीडीओको रुपमा कसैलाई पठाइएको छैन ।

ठूला र आकर्षक जिल्लामा सीडीओ बनेर जानेहरु मरिहत्ते गर्छन् । तर अहिले खाली रहेका साना पहाडी जिल्लाहरू भएकाले जान इच्छुक पनि नदेखाउने हुँदा यो समस्या आएको गृह स्रोतले बतायो ।

प्रकाशित : ५ फाल्गुन २०८१, सोमबार ००:००