मुख्य खवर

अनसनमा रहेका दिक्तेलका मेयर वीर अस्पतालमा भर्ना,स्वास्थ्यको जिम्मा आफैं लिनेभन्दै डिस्चार्ज


१६ श्रावण २०८२, बिहिबार ००:००


सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरू गरेका दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तिर्थराज भट्टराई वीर अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अनशनस्थल माइतीघरबाट उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । आफूले अघि सारेको सात बुँदे माग सम्बोधनमा सरकार गम्भीर नदेखिएको भन्दै भट्टराई बुधबारदेखि आमरण अनशनमा बसेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपनि उनले स्वास्थ्यको जिम्मा आफैँ लिने कागज गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखापर्न सक्ने भन्दै उपचारमा संलग्न चिकित्सकले डिस्चार्ज दिन नमानेपछि भट्टराईले आफ्नो स्वास्थ्यको जिम्मा आफैं लिने कागज गरेका हुन् । डिस्चार्ज भएर पुनः माइतीघरमै आमरण अनशन बस्ने उनको तयारी छ ।

बिहान मानवअधिकारकर्मीले भेटेको र अहिले स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल जाने तयारी छ । जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउनु पर्ने, बॉस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून बनाउनु पर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदुषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त कर लिन पाउने कानून बनाउनु पर्ने लगायत माग उनको छ ।

प्रकाशित : १६ श्रावण २०८२, बिहिबार ००:००