Breaking News Post

अब ड्राइभिङ लाइसेन्सका अधिकांश प्रक्रिया अनलाइनबाटै, यी कामका लागि भने कार्यालय पुग्नैपर्ने


२१ आश्विन २०८३, बुधबार ००:००


काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन, नवीकरण गर्न वा सच्याउन अब सेवाग्राहीले यातायात कार्यालय धाएर दिनभर लाइन बस्नुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य भएको छ । यातायात व्यवस्था विभागले ‘विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका, २०८३’ कार्यान्वयनमा ल्याएसँगै लाइसेन्सका अधिकांश काम अनलाइन प्रणालीमा सारिएका हुन् ।

विभागले गत साउनबाट ‘ईडीएलभीआरएस’ प्रणाली सञ्चालनमा ल्याएर लाइसेन्स छपाईसँग सम्बन्धित सम्पूर्ण कामहरू प्रदेश र प्रदेश मातहतमा रहेका यातायात कार्यालयहरूबाट प्रदान गर्न सुरु गरेको थियो । उक्त प्रणालीलाई नीतिगत स्पष्टता प्रदान गर्न विभागले ३१ भदौमा निर्देशिका स्वीकृत गरेर सार्वजनिक गरेको हो ।

योसँगै फाराम भर्नेदेखि राजस्व तिर्नेसम्मका काम घरमै बसेर गर्न सकिने भएको छ । यस्तै, सुरक्षण मुद्रण केन्द्रमा छपाई भएपछि ती कार्डलाई हुलाकमार्फत सेवाग्राहीको हातसम्म पुर्‍याउने व्यवस्था मिलाउन यसअघि नै विभागले त्रिपक्षीय सम्झौता गरेको थियो । जसकारण अब सेवाग्राहीले चाहेमा प्रिन्ट भइसकेका लाइसेन्स सेवाग्राहीले घरमै प्राप्त गर्न सक्नेछन् ।

तर, अनलाइनबाट नै अधिकांश  काम गर्न सकिने व्यवस्था गरिएपनि केही काम भने भौतिक रूपमा नै उपस्थित भएर गर्नुपर्ने बाध्यता अझै पनि कायमै छ । विभागका अनुसार स्वास्थ्य परीक्षण, लिखित तथा ट्रायल परीक्षा र राष्ट्रिय परिचयपत्रको डेटा उपलब्ध नभएको अवस्थामामा बायोमेट्रिक भेरिफिकेसनका लागि यातायात कार्यालयमा सेवाग्राही आफैँ उपस्थित हुनुपर्ने व्यवस्था कायमै छ ।

अनलाइनबाटै सकिने काम र घरमै लाइसेन्स आउने प्रक्रिया

विभागले सञ्चालनमा ल्याएको ‘ईडीएलभीआरएस’ प्रणालीमार्फत नयाँ लाइसेन्सको आवेदन, वर्ग थप, नवीकरण तथा प्रतिलिपि, पुन: ट्रायलको फाराम अनलाइनबाटै भर्न सकिन्छ । नागरिक एप वा राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गरिएकाले व्यक्तिगत विवरण अटो फिल हुने व्यवस्था मिलाइएको छ । यसले गर्दा म्यानुअल्ली विवरण टाइप गर्दा हुने गल्ती कम हुने अपेक्षा गरिएको छ । 

साथै, आवेदन शुल्क, परीक्षा दस्तुर र नवीकरणबापतको राजस्व पनि डिजिटल वालेट वा बैंकमार्फत अनलाइन नै भुक्तानी गर्न सकिने व्यवस्था उक्त प्रणालीमा मिलाइएको छ । लाइसेन्सको विवरणमा तथ्यगत त्रुटि भएमा विवरण सच्याउन अनलाइनबाटै निवेदन दिने, भर्चुअल लाइसेन्स हेर्ने र कार्ड छपाइ कुन चरणमा पुग्यो भनेर अनलाइन ट्र्याक गर्ने सुविधा समेत प्रणालीमै उपलब्ध गराइएको छ ।

यसैगरी, परीक्षा पास गरेपछि वा नवीकरण भएपछि छापिएको स्मार्ट कार्ड लिन पनि यातायात कार्यालय धाइरहनु नपर्ने वातावरण बनेको छ । सङ्घीय संरचना अनुसार लाइसेन्स छपाइको जिम्मा अब प्रदेश सरकारहरूमा सरेको छ । मधेस र लुम्बिनी प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर कार्ड छाप्न थालिसकेका छन् भने अन्य प्रदेश पनि सोही प्रक्रियामा छन् । 

यातायात व्यवस्था विभाग, सुरक्षण मुद्रण केन्द्र र हुलाक सेवा विभागबिच ६ असोजमा भएको समझदारी अनुसार अब छापिएका कार्डहरू हुलाकको नेटवर्कमार्फत वितरण गरिँदै छ । यो व्यवस्था अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्दा नै सामान्य वा एक्सप्रेस डेलिभरी रोजेर आफ्नो घरको ठेगाना राख्न पाउँछन् । कार्ड छापिएपछि हुलाकमार्फत सिधै सेवाग्राहीको ढोकामै पुर्‍याउने गरी सम्झौता भएको हो । 

यी कामका लागि भौतिक रूपमै उपस्थित हुनुपर्ने

लाइसेन्सका अधिकांश कामलाई डिजिटल बनाइए पनि स्वास्थ्य जाँचका लागि भने सेवाग्राही सम्बन्धित डाक्टरकहाँ पुग्नैपर्छ । विभागका अनुसार हालसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता भएका १ हजार १४४ भन्दा बढी सूचीकृत चिकित्सकको विवरण प्रणालीमा राखिएको छ । सेवाग्राहीले आफूलाई पायक पर्ने चिकित्सक रोजेर सम्पर्क गरेपछि स्वास्थ्य परीक्षणका लागि भने स्वयम् उपस्थित हुनुपर्छ । डाक्टरले जाँच गरेपछि त्यसको रिपोर्ट सिधै अनलाइन प्रणालीमा अपलोड गरिदिन्छन् । बागमती प्रदेशमा सर्वोच्च अदालतको आदेश अनुसार मन्त्रालयले सूचीकृत गरेका डाक्टर र कोशी प्रदेशमा त्यहाँको कानुन अनुसार पुरानै तरिकाबाट यो काम भइरहेको छ ।

यसैगरी, नयाँ लाइसेन्स निकाल्न वा वर्ग थप गर्नका लागि लिखित परीक्षा र ट्रायल परीक्षा दिन तोकिएको केन्द्रमै उपस्थित हुनुपर्छ । ट्रायलमा फेल भएर पुनः परीक्षा दिँदा पनि भौतिक उपस्थिति जनाउनुपर्ने हुन्छ । 

अर्कोतर्फ, राष्ट्रिय परिचयपत्रको डेटा प्रणालीमा नभेटिएमा बायोमेट्रिक दिन यातायात कार्यालयमा पुग्नुपर्ने विभागले जनाएको छ ।  गत साउनयता बनेका नयाँ राष्ट्रिय परिचयपत्रको विवरण प्रणालीमा सिङ्क हुन नसक्दा नयाँ परिचयपत्र भएका सेवाग्राही बायोमेट्रिक प्रमाणीकरणका लागि यातायात कार्यालय नै धाइरहेका हुन् । यस्तै विदेशी नागरिक र कूटनीतिक नियोगका व्यक्तिहरू पनि कार्यालयमै उपस्थित भएर बायोमेट्रिक प्रमाणीकरण गराउनुपर्छ ।

यसका साथै, कागजातमा समस्या वा शंकास्पद लागेमा इमेल र मोबाइलमा म्यासेज गरेर नै कार्यालय भेरिफिकेसनका लागि बोलाइन सकिने विभागले जनाएको छ । लाइसेन्सको म्याद सकिएको ५ वर्ष नाघेर नवीकरण रोकिएमा वा हराएको लाइसेन्सको प्रतिलिपि लिन ट्राफिक प्रहरीबाट ‘क्लियरेन्स रिपोर्ट’ बुझाउनुपर्दा सेवाग्राही भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

अनलाइन आवेदन कहाँबाट, कसरी दिने ?

लाइसेन्ससम्बन्धी सेवा लिनका लागि सेवाग्राहीसँग आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । सेवाग्राहीले सबैभन्दा पहिला आफूले सेवा लिन चाहेको प्रदेशको आधिकारिक वेब पोर्टल छनोट गर्नुपर्छ । यसका लागि विभागको मुख्य प्रणाली ‘https://edlvrs.dotm.gov.np/’मा प्रवेश गरेर आफ्नो प्रदेश छनोट गर्न सकिन्छ ।  

पोर्टलमा प्रवेश गरिसकेपछि सेवाग्राहीले नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण वा प्रतिलिपि लगायतका सेवा मध्ये आवश्यक सेवा रोज्नुपर्छ । त्यसपछि क्यूआर कोड नागरिक एपबाट स्क्यान गरेर वा आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर इन्ट्री गरेर अघि बढ्न सकिन्छ । 

यसो गर्दा व्यक्तिगत विवरण स्वतः फाराममा भरिन्छन् । त्यसलगत्तै आफूले लिन चाहेको सवारी वर्ग (जस्तै: मोटरसाइकलका लागि ‘A’, कार/जिपका लागि ‘B’) छनोट गर्नुपर्छ । अनि प्रणालीमा देखिएका सूचीकृत डाक्टरमध्ये पायक पर्ने डाक्टर छनोट गरी सम्पर्क गरेर स्वास्थ्य परीक्षण गराउनुपर्छ । 

स्वास्थ्य जाँचको नतिजा अनलाइन प्रणालीमा स्वीकृत भएपछि सेवाग्राहीले आफूलाई अनुकूल हुने यातायात कार्यालय र परीक्षाको मिति रोज्न पाउँछन् । 

फाराम बुझाएपछि कार्यालयका कर्मचारीले अनलाइनमै कागजात जाँच गर्छन् र स्वीकृत भएपछि सेवाग्राहीको मोबाइलमा म्यासेज आउँछ । त्यसपछि अनलाइनबाटै राजस्व तिरेर परीक्षामा सामेल हुन सकिन्छ । 

प्रकाशित : २१ आश्विन २०८३, बुधबार ००:००