ताजा घटना

आ’त्महत्या प्रयास गर्ने युवकको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री


२ चैत्र २०७८, बुधबार ००:००


विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो ।

परिवार स्रोतका अनुसार ती युवाले आ’त्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँ’टीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो ।

विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका विशेषज्ञ शल्य चिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए । डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो ।

मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धी चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले बक्कल निकालेर विरामीलाई जोखिममुक्त बनाएको हो । बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार ००:००