समाचार

आफैँले गरेको निर्णयबाट २ महिनामै पछि हट्यो सरकार, विद्युतमा लगाइएको भ्याट हटाइँदै !


५ आश्विन २०८३, सोमबार ००:००


काठमाडौँ । सरकारले बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । उर्जामन्त्री बिराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच विद्युत महसुलमा लगाइएको भ्याट हटाउने सैद्धान्तिक सहमति भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार दुई मन्त्रीबीचको भेटमा घरायसी ग्राहकका लागि लगाइएको ५ प्रतिशत र अन्य गैरघरायसी ग्राहकका लागि लगाइएको १३ प्रतिशत भ्याट हटाउने विषयमा सहमति भएको छ । 

बिजुलीमा भ्याट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेश हुने गर सोही बैठकले भ्याट हटाउने निर्णय गर्ने स्रोतको दाबी छ । 

यसो त बिजुलीमा लगाइएको भ्याट हटाउने विषय यसअघि नै प्रधानमन्त्रीसम्म पुगेको थियो । प्रधानमन्त्री सकारात्मक देखिएपछि अर्थ मन्त्रालय र उर्जा मन्त्रालयबीच बिजुलीमा भ्याट हटाउने सहमति भएको स्रोतले बताएको छ । 

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत महसुलमा भ्याट लगाउने व्यवस्था गरेको थियो । बजेटमा गरिएको व्यवस्था अनुसार नै ५० युनिट भन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकका लागि ५ प्रतिशत र अन्य ग्राहकको हकमा १३ प्रतिशत भ्याट लिइँदै आएको थियो ।

प्रकाशित : ५ आश्विन २०८३, सोमबार ००:००