Breaking News Post

आफ्ना आसपासका नदीमा पानीको बहाव कस्तो छ ? यसरी हेर्नुहोस् ‘लाइभ डेटा’


२५ आश्विन २०८३, आइतबार ००:००


काठमाडौं । गोरखाको चुमनुव्री हुँदै बुढीगण्डकी नदीमा आएको भीषण आकस्मिक बाढीको कारण तटीय क्षेत्रमा जोखिम अझै टरेको छैन । बाढीका कारण भएको क्षतिको विवरणहरू आउने क्रम जारी नै छ । यससँगै उक्त जलाधार क्षेत्रको पछिल्लो अवस्थाबारे धेरैको चासो बढिरहेको छ ।

वर्षायाममा मात्र नभई जुनसुकै बेला आउन सक्ने विपदबाट जोगिन घर नजिकका नदी तथा खोलाको अवस्था र पानीको सतहबारे पूर्वजानकारी हुनु महत्त्वपूर्ण हुन्छ । नदीमा पानीको सतह खतराको विन्दुमा पुगेको समयमै थाहा पाउन सके आफू जोगिन र घरपरिवारलाई समेत सचेत गराउन सकिन्छ ।

नेपालका अधिकांश प्रमुख नदी तथा खोलाहरूमा पानीको सतह निगरानी गर्न स्वचालित जलमापन केन्द्रहरू स्थापना गरिएका छन् । जसले केही मिनेटको अन्तरमा नदिको अवस्थाका बारेमा ताजा विवरणको अपडेट दिइरहेका हुन्छन् । आफ्नो क्षेत्रको नदीमा पानीको बहाव कस्तो छ भनेर मोबाइल वा कम्प्युटरबाटै हेर्ने सहज उपाय यहाँ प्रस्तुत गरिएको छ ।

लाइभ डेटा पोर्टलमा कसरी पुग्ने ?

  • यसका लागि मोबाइल वा कम्प्युटरको ब्राउजरमा गएर गुगलमा ‘Flood Forecasting Division’ सर्च गर्नुहोस् । 

  • त्यसपछि खुल्ने जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा जानुहोस् । वा यहाँ क्लिक गर्नुहोस् । 

  • त्यसपछि होम पेजमा नै देखिने ‘RIVER WATCH’ मा क्लिक गर्नुपर्छ । त्यहाँ क्लिक गर्नासाथ देशभरका १८० भन्दा बढी स्टेसनहरूमा मापन भइरहेको नदीहरूको पानीको सतहको ताजा अवस्था तालिकामा देखिन्छ ।

तालिकाका प्राविधिक विवरण कसरी बुझ्ने?

‘River Watch’ तालिकामा सुरुमै सम्बन्धित जिल्ला र नदीमा रहेको जलमापन केन्द्रको नाम देखिन्छ । त्यसको छेउमा रहेको ‘Water Level (m)’ मा हाल उक्त नदीमा पानीको सतह कति मिटर छ भन्ने विवरण उल्लेख हुन्छ ।

नदीको अवस्था विश्लेषण गर्न प्रत्येक केन्द्रमा सतर्कता तह ‘Warning Level’ र खतराको तह ‘Danger Level’ पहिले नै निर्धारण गरिएको हुन्छ । पानीको सतह सतर्कता तहमा पुगेपछि नदी छेउछाउका बासिन्दा सचेत हुनुपर्छ भने खतराको तह नाघेपछि बाढी बस्तीमा पस्ने जोखिम उच्च हुने भएकाले तत्काल सुरक्षित स्थानमा जानुपर्ने हुन्छ ।

नदीको अवस्था सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी तालिकामा तीनवटा रङ्गको प्रयोग गरिएको हुन्छ । नदी सामान्य अवस्थामा बगिरहँदा तालिका हरियो रङमा देखिन्छ । जलसतह बढेर सतर्कता तहमा पुगेपछि पहेँलो र खतराको विन्दु पार गरेपछि रातो रङमा परिवर्तन हुन्छ ।

यसैगरी ‘Trend’ स्तम्भले पानीको बहावको अवस्था देखाउँछ । त्यहाँ ‘Rising’ लेखिएको भए पानीको सतह निरन्तर बढिरहेको, ‘Falling’ भए घट्दै गएको र ‘Steady’ भए पानीको सतह स्थिर रहेको बुझ्नुपर्छ । ‘Status’ ले खोलाको समग्र अवस्था र अन्तिममा रहेको ‘O & M by’ ले उक्त जलमापन केन्द्रको सञ्चालन तथा मर्मत कुन निकायले गरिरहेको छ भन्ने जानकारी दिन्छ ।

मानौँ, कुनै नदीमा हालको जलस्तर ४.२ मिटर छ । त्यहाँको सतर्कता तह ५ मिटर र खतराको तह ६ मिटर तोकिएको छ । यसको अर्थ अहिले नदी ४.२ मिटरको सुरक्षित तहमा छ र तालिका हरियो देखिन्छ । यदि पानी निरन्तर बढेर ५ मिटर पुग्यो भने तालिका पहेँलो हुन्छ र सतर्क रहनुपर्छ । यदि बहाव बढेर ६ मिटर पुग्यो भने तालिका रातो हुन्छ । जसको अर्थ बाढीको उच्च जोखिम भएकाले सुरक्षित ठाउँमा जानुपर्ने हुन्छ ।

 

 

माथिको तस्बिरमा पहिलो नम्बरमै देखिएको ‘Budhi Gandaki at Aarughat’ स्टेसनमा जलसतह ८.४३ मिटर पुगेर तालिका रातो रङसहित ‘DANGER’ देखिएको छ । त्यहाँ खतराको तह ५ मिटर मात्र तोकिएको थियो । तर उक्त तालिकामा विवरण बिहान ८:४० बजेपछि अपडेट भएको देखिँदैन ।

महाशाखाका अनुसार बिहान ८:४० बजेसम्म सूचना पठाएपछि नदीमा आएको बाढीले उक्त जलमापन केन्द्र र पुल नै बगाइदिएको थियो । स्टेसन नै बगेका कारण त्यहाँबाट त्यसपछिको डेटा आउन रोकिएको हो ।

डेटा अपडेट हुन छाडेमा के गर्ने ?

यदि कुनै नदीमा पानी खतराको तहमा पुगेको देखिन्छ तर १० मिनेटभन्दा बढी समयसम्म डेटा अपडेट भएन भने प्राविधिक समस्या आएको वा स्टेसन नै क्षतिग्रस्त भएको हुनसक्छ । यस्तो अवस्थामा डेटा नआउँदैमा बाढी घट्यो भनेर ढुक्क हुनुहुँदैन । तत्काल बाढी सूचनाको लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को नम्बर १२३४ वा स्थानीय प्रहरी प्रशासनमा सम्पर्क गरेर पछिल्लो अवस्थाका बारेमा अपडेट लिनु उपयुक्त हुन्छ । 

प्रकाशित : २५ आश्विन २०८३, आइतबार ००:००