गृह पृष्ठ

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन : अग्निप्रसाद सापकोटा


२८ भाद्र २०८१, शुक्रबार ००:००


काठमाडौँ, पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्। पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताएका छन।

सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको उनको जिकिर छ। उनले सरकार संवैधानिक परिषद्‌मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताएका छन ।

उनले संवैधानिक परिषद्‌मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको उल्लेख गरे। उनले भने, ‘उहाँहरुले (सत्तारुढ दल) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ। अहिले सरकार अल्पमतमा छ। त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिका आधारमा, त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो।

अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु। यो राजनीतिक कुरा हो तर उहाँको गल्ती कमजोरी पनि होला मैले बुझ्न बाँकी छ तर पनि प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटि भएको बुझिँदैन। उहाँहरुको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्‌मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेण्डालाई अगाडि ल्याएको हो।

सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ। त्यसो भएको हुनाले यो सम्भव पनि छैन।’पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताएका छन। उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्नु नहुने बताएका छन।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार ००:००