चलचित्र ‘मुग्लान’को चर्चित गीत ‘पात बजाउँदै’, स्वर्गीय भक्तराज आचार्यको ‘मुटु जलिरहेछ’, चर्चित लोकगीत ‘पियारा पियारी’, ‘कश्मीरे पछ्यौरी’ त एआई भर्सनमा चर्चित भइरहेका वास्तविक सङ्गीतका उदाहरण मात्र हुन् । कुनै सर्जकले नयाँ गीत सार्वजनिक गर्ने बित्तिकै त्यसको एआई भर्सन बनाउने ट्रेन्ड देखिएको छ । कतिपय अवस्थामा त एआई भर्सन वास्तविक गीतभन्दा चर्चित समेत हुने गरेका छन् ।
कतिपय यस्ता भर्सनमा गायकको स्वर फेरिएको छ भने कतिपयमा सङ्गीत नै एआईबाट नयाँ बनाएर मूल स्रष्टाको अनुमतिबिना युट्युब, टिकटक लगायतका प्लेटफर्ममा राखिएको छ । महिनौं लगाएर तयार पारिएका सिर्जनालाई केही मिनेटमै एआईमार्फत तोडमोड गरी अरूले दुरुपयोग गरिरहेको भन्दै कतिपय सर्जक आक्रोशित बनेका छन् ।
यदी तपाईंको सिर्जना पनि यसैगरी अनुमतिबिना एआईमार्फत पुन:उत्पादन भएको छ र आफ्नो हक तथा अधिकारको रक्षा कसरी गर्ने भन्नेबारे सोच्दै हुनुहुन्छ भने यो लेख तपाईंका लागि उपयुक्त हुन सक्छ ।
के एआईबाट अरूको सिर्जना पुन:उत्पादन गर्न पाइन्छ ?
नेपालको कानुन अनुसार सर्जकको पूर्व अनुमतिबिना कुनै पनि सिर्जनालाई एआईमार्फत पुन:उत्पादन गर्नु गैरकानुनी हो । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका अनुसार वास्तविक सङ्गीतलाई तोडमोड गरेर एआईमार्फत पुनः उत्पादन गर्नु प्रतिलिपि अधिकारको प्रत्यक्ष उल्लङ्घन हो ।
प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ६ (१) ले कुनै पनि रचनाको आर्थिक अधिकारको पहिलो धनी स्वयं रचयिता हुने व्यवस्था गरेको छ ।
साथै, ऐनको दफा (५) अनुसार प्रतिलिपि अधिकार प्राप्त गर्न रचना दर्ता गराउनैपर्ने अनिवार्य व्यवस्था छैन । सिर्जना हुनासाथ त्यसमा स्रष्टाको अधिकार स्वतः स्थापित हुन्छ ।
उक्त ऐनको दफा २५ मा प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुने व्यवस्था उल्लेख गरिएको छ । यसको उपदफा (१) (क) मा भनिएको छ, “रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको सर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू उत्पादन गरी बिक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा ।”
यस्तै (ख) र (ग) मा अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा र अर्काको रचनाको स्वरूप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा समेत प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुने उल्लेख छ ।
ऐनको दफा ८ (ग) ले आफ्नो रचनाको स्वरूप बिगार्ने, तोडमोड गर्ने वा स्रष्टाको प्रतिष्ठामा आँच पुर्याउने कार्य रोक्ने नैतिक अधिकार स्रष्टासँग सुरक्षित रहने व्यवस्था गरेको छ ।
सिर्जना चोरी भएमा के गर्ने?
यदि तपाईंको रचना एआईमार्फत अनधिकृत रूपमा प्रयोग भएको पाइएमा उजुरी दिन सक्नु हुनेछ । यसका लागि सङ्गीत रोयल्टी सङ्कलन समाज (एमआरसीएसएन) मा उजुरी दिनु राम्रो विकल्प हो ।
नेपालमा सङ्गीतको प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापन गर्ने इजाजतप्राप्त एक मात्र संस्था ‘सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल’ हो । समाजका प्रमुख कार्यकारी अधिकारी (सीईओ) सागर पाण्डेका अनुसार एआईमार्फत बिना अनुमति प्रयोग भएका गीत-सङ्गीतबारे सर्जकले उजुरी दिन सक्छन् ।
सर्जकले समाजको कार्यालयमा स्वयं उपस्थित भएर वा लिखित औपचारिक उजुरी दर्ता गराउन सक्नेछन् । उजुरीमा स्रष्टाले अनधिकृत रूपमा हालिएको एआई गीतलाई सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्मबाट पूर्ण रूपमा हटाउन लगाउन वा उक्त एआई गीतले कमाएको वा कमाउने आर्थिक लाभको रोयल्टी आफूले पाउने दाबी गर्न सक्छन् ।
पाण्डेका अनुसार पछिल्लो पाँच महिनादेखि डिजिटलाइजेसनमा केन्द्रित भएको समाजले विभिन्न प्लेटफर्ममा राखिएका एआई निर्मित गीतहरूको निरन्तर निगरानी गरिरहेको छ । “सर्जकको आवेदन आएमा हामी ती सामग्रीलाई प्लेटफर्मबाटै टेकडाउन गर्छौँ वा रोयल्टी क्लेम गरेर सर्जकलाई दिलाउँछौँ,” पाण्डेले भने ।
प्रहरी र अदालतमा कानुनी कारबाही अघि बढाउन सकिने
प्रतिलिपि अधिकार ऐन अनुसार सिर्जना चोरी फौजदारी कसुर समेत हो । स्रष्टाले प्रमाणसहित नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सक्छन् । ऐनको दफा (३२) मा गरिएको व्यवस्था अनुसार प्रहरीले त्यस्ता गैरकानुनी सामग्री वा उत्पादनमा प्रयोग भएका उपकरण जफत गर्न सक्छ ।
प्रतिलिपि अधिकार ऐनको दफा ३८ अनुसार आफ्नो अधिकार उल्लङ्घन भएको थाहा पाएको मितिले तीन महिनाभित्र उजुरी दिइसक्नु व्यवस्था गरेको छ ।
सजाय र क्षतिपूर्ति
ऐनको दफा २७ अनुसार अनधिकृत रूपमा पुन:उत्पादन गर्नेलाई पहिलो पटक १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २० हजारदेखि २ लाख रुपैयाँसम्म जरिबाना वा १ वर्षसम्म कैद हुन सक्छ । साथै, पीडित स्रष्टालाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराइदिने कानुनी प्रावधान छ ।
अन्तर्राष्ट्रिय सुरक्षाका लागि आईपीआई नम्बर
डिजिटल संसारमा आफ्नो सिर्जना विश्वव्यापी रूपमा सुरक्षित राख्न र रोयल्टी सुनिश्चित गर्न स्रष्टासँग आईपीआई नम्बर (इन्ट्रेस्टेड पार्टिज इन्फर्मेसन नम्बर) हुनु अत्यावश्यक छ ।
आईपीआई नम्बर सङ्गीत क्षेत्रका गीतकार, सङ्गीतकार र प्रकाशकलाई प्रदान गरिने एक पहिचान कोड हो, जुन एउटा स्रष्टाको जीवनकालमा एउटै मात्र हुन्छ । यो विश्वभरका लेखक तथा सङ्गीतकार समाजहरूको महासंघ (सीआईएसएसी) द्वारा व्यवस्थापन गरिन्छ । स्रष्टाले सङ्गीत रोयल्टी सङ्कलन समाजको सदस्यता लिएपछि यो नम्बर स्वतः प्राप्त हुन्छ । यो जीवनभरका लागि एउटै रहने स्थायी नम्बर हो, जसले उस्तै नाम भएका लाखौँ सर्जकहरू बिच तपाईंको वास्तविक पहिचान खुलाउँछ ।
सङ्गीत रोयल्टी सङ्कलन समाजले संयुक्त राष्ट्रसङ्घको एजेन्सी ‘विश्व बौद्धिक सम्पत्ति सङ्गठन’ (डब्लूआईपीओ) को डब्लूआईपीओ कनेक्ट प्रणालीमार्फत काम गर्छ । स्रष्टाको आईपीआई नम्बर भएपछि उनीहरूको गीत विश्वव्यापी डेटाबेसमा आईएसडब्लूसीद्वारा दर्ता हुन्छ ।
हालसम्म सङ्गीत रोयल्टी सङ्कलन समाजले संसारका अन्य देशमा रहेका आफू जस्तै संस्थासँग सम्झौता गरेर ती देशका रचियताको सङ्गीत नेपाली भूभागमा बजेमा रोयल्टी सङ्कलन गरेर पठाउने र ती देशमा नेपाली रचियताको सङ्गीतले कमाएको रोयल्टी ती संस्थाहरूबाट नेपालसम्म ल्याउने काम गरिरहेको सीईओ सागर पाण्डेले बताए । यसरी अन्य देशमा नेपाली गीत बज्दा वा एआईमार्फत प्रयोग हुँदा त्यसको पहिचान गरी रोयल्टी सिधै सम्बन्धित नेपाली स्रष्टाको खातामा पुर्याउन सम्भव हुने उनले जानकारी दिए ।
गीत-सङ्गीतमा अधिकार कसको हुन्छ ?
समाजका अध्यक्ष पाण्डेका अनुसार हरेक रचना अर्थात कम्पोजिसनलाई आईएसडब्लूसी (ISWC) द्वारा दर्ता तथा पहिचान गरिन्छ । हरेक ध्वनिअङ्कन (साउन्ड रेकर्डिङ) को बिक्री र वितरण म्युजिक डिस्ट्रिब्युिन कम्पनीले गर्छ । यसरी विक्री वितरण भएका रेकर्डिङको आईएसआरसी कोडका आधारमा स्ट्रिम, सेल्स र डाउनलोडको ट्राकिङ गरिन्छ ।
हरेक गीत-सङ्गीतका दुई प्रकारका अधिकार हुन्छन् । ती हुन्, मास्टर राइट्स र पब्लिसिङ राइट्स:
मास्टर राइट्स
मास्टर राइट्स रेकर्ड गरिएको संस्करण (साउन्ड रेकर्डिङ) माथिको अधिकार हो । यो अधिकार आईएसआरसीसँग सम्बन्धित हुन्छ । सामान्यतया रेकर्डिङमा लगानी गर्ने लेबल, निर्माता वा स्वयं आफै कलाकारसँग मास्टर राइट्सको अधिकार हुन्छ । स्पोटिफाई, युट्युब, एप्पल म्युजिक जस्ता प्लेटफर्मबाट आउने आम्दानीको हिस्सा मास्टर राइट्स होल्डरलाई जान्छ ।
त्यसबाहेक उक्त साउन्ड रेकर्डिङलाई भिडिओ, फिल्म वा विज्ञापनमा प्रयोग गर्न कसैले खोज्छ भने उक्त अधिकार धनीबाट अनुमति अर्थात् लाइसेन्स लिनुपर्छ ।
पब्लिसिङ राइट्स
यो गीतको रचना (बोल र धुन) माथिको अधिकार हो । यो आईएसडब्लूसीसँग सम्बन्धित हुन्छ । सामान्यतया गीतकार, सङ्गीतकारसँग पब्लिसिङ राइस्ट हुन्छ । गीतकार वा सङ्गीतकार आफैँले रोयल्टी सङ्कलन गर्न नसकेमा कुनै पब्लिसरलाई पनि पब्लिसिङ राइटको जिम्मा दिन सक्छन् । कुनै रचनाबाट कभर सङ बनाउने, रिमेक गर्ने वा सार्वजनिक प्रस्तुति (रेडियो, टिभी, कन्सर्ट) बाट आउने रोयल्टी यसअन्तर्गत पर्छ ।
उदाहरणका लागि यदी गीतकारले बोल लेखे, सङ्गीतकारले धुन बनाए र लेबलले लगानी गरेर रेकर्ड गरायो भने त्यो गीतको बोल र धुनको अधिकार (पब्लिसिङ राइट्स) गीतकार र सङ्गीतकारसँग तथा रेकर्ड गरिएको आवाजको अधिकार (मास्टर) लेबलसँग रहन सक्छ ।
यदी सबै किसिमको भूमिका एउटै व्यक्तिले निभाए भने पब्लिसिङ र मास्टर राइट्स एउटै व्यक्तिसँग रहन सक्छ । कुनै कलाकारले आफैँ बोल लेखे, आफैँ धुन बनाए, आफैँ गाए र आफ्नै पैसा लगाएर रेकर्डिङ पनि गरे भने बोल र धुनको अधिकार (पब्लिसिङ राइट्स) र रेकर्ड गरिएको आवाजको अधिकार (मास्टर राइट्स) दुवै उनैसँग रहन्छ । यस्तो अवस्थामा उनी एकै साथ गीतकार, सङ्गीतकार, गायक र निर्माता हुन् । त्यसैले दुवै अधिकारबाट आउने आम्दानी पनि उनैलाई जान्छ । तर यी दुई अधिकार कानुनी रूपमा अझै अलग-अलग नै रहन्छन् ।
किन महत्त्वपूर्ण ?
पहिले नै सार्वजनिक भइसकेको गीत प्रयोग गर्न दुवै अधिकार धनीसँग छुट्टाछुट्टै अनुमति चाहिन सक्छ । रोयल्टी पनि दुबै अधिकार धनीलाई फरक-फरक तरिकाले बाँडिन्छ । र, सम्झौता गर्दा पनि कुन अधिकार बेचिँदै छ र कुन आफूसँग रहँदै छ भन्ने स्पष्ट हुनुपर्छ ।











प्रतिक्रिया