गृह पृष्ठ

एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार


११ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं,पार्टीभित्रको विवाद चुलिँदै जाँदा एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार भएका छन्। उनीहरुले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्। बुधबार एकीकृत समाजवादीका सांसद प्रेम आले केही सांसदसहित देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।

सो भेटमा आलेले आफूसँग सात जना सांसद रहेको र उनीहरु कांग्रेसका प्रवेश गर्न तयार रहेको भन्दै त्यसका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए। आलेले आफूहरुले अध्यादेशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेको तर ओलीले देउवालाई देखाएर पन्छिएको भन्दै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइ दिन आग्रह गरेको स्रोतले जनाएको छ।

जवाफमा देउवाले सात जना सांसद कांग्रेसमा आउने विषय सकारात्मक भएको उल्लेख गर्दै अहिले नै अध्यादेश ल्याउँदा विवाद सृजना हुने बताएका थिए। अहिले राजनीतिक दलहरु सशंकित छन्, अब १८ गते संसद बैठक बस्दैछ, राजनीतिक दल सम्बन्धी अध्यादेश लाउन मैले नै रोकेको हो, अहिले फेरि ओलीजीलाई अध्यादेश ल्याउनुस् भन्न उचित हुँदैन।

संसद अधिवेशनमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा त्यसमा कांग्रेसले विरोध गर्दैन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै स्रोतले डिसी नेपालसँग भन्यो। पछिल्लो समय एकीकृत समाजवादी विभाजनको संघारमा छ। प्रेम आले र किसान श्रेष्ठसहितका सांसद कुनै पनि बेला पार्टी छोड्न तयार छन्।

अहिलेको कानुनी व्यवस्था अनुसार दल विभाजन गर्न मिल्दैन। तत्कालीन देउवा सरकारले अध्यादेश ल्याएर एमाले विभाजन भएपछि अध्यादेश फिर्ता लिएका कारण दल विभाजन सम्बन्धी व्यवस्था निस्किृय भएको छ। अब नयाँ अध्यादेश वा विधेयकले दल विभाजन गर्ने कानुनी व्यवस्था प्रतिस्थापन नगर्दासम्म दल विभाजन गर्न मिल्दैन।

सोही कारण एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरुले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याइ दिन प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग आग्रह गरिरहेका छन्। स्रोतका देउवाले दल विभाजन सम्बन्धी व्यवस्था विधेयकमार्फत नै ल्याउने र संसदमा यसको समर्थन गर्ने आश्वासन दिएका छन्।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ००:००