Breaking News Post

एमालेबाट निस्कासितमा परेका डा.भीम रावलको समर्थन गर्न ५९ जनाले एमाले परित्याग


७ माघ २०८१, सोमबार ००:००


काठमाडौं, नेकपा एमालेबाट निस्कासितमा परेका डा.भीम रावलको पक्षमा सुदूरपश्चिमका ५९ जना कार्यकर्ताले पार्टी छाडेका छन्। ५९ जना नेता–कार्यकर्ताले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन्।

परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।

भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले रावलको साथमा रहने घोषणा गरेका हुन्। विज्ञप्तिमा एमाले छोड्नेमा केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायत रहेका छन्। एमालेले अनुशासन उल्लंघन गरेको भन्दै भीम रावललाई गत पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो।

प्रकाशित : ७ माघ २०८१, सोमबार ००:००