काठमाडौं, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।
ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम बिस्तारमा सघाउ पु¥याएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रमुख दिपक थापाका अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको देखिएको छ ।
‘फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं’, थापाले भने, ‘उनले ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं । थापाका अनुसार, प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबी कार्यालयमा ल्याइँदैछ ।
उनीमाथि अब कीर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तरगतको कसुरमा अनुसन्धान सुरु हुनेछ । मंगलबार नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ ।
अनुसन्धानमा के देखियो ?
कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रीनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।
प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तरगतको साइबर ब्यूरोले चासो देखाएको एक अधिकृतले बताए । प्रहरी अधिकृतहरुका अनुसार, प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाण पत्रमा उल्लेखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ । तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा Khadka Prasad Oli उल्लेख गरिएको छ ।
हामीले पनि त्यो विवरण हेरेर धेरै विषयहरु शंकास्पद पाएका छौंं’, एक प्रहरी अधिकृतले थपे, ‘प्रसाईंले गुगलबाट प्रमाणित गरेर ल्याएको भने पनि गुगल सर्च इञ्जिन भएकाले तेस्रो स्रोतका विवरणहरु पनि आउँछन् र त्यसलाई गुगलले भेरिफाइ गर्ने भन्ने नै हुँदैन ।’
प्रहरीले प्रसाईंले ल्याएका विवरण कहाँबाट ‘ओरिजिनेट’ भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ । प्रसाईंले नेपालका ‘नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्केमिनिस्तान, दक्षिण अफ्रिका, केन्या, दुबई र सिंगापुरमा छ’ भन्ने अभिव्यक्ति समेत दिएका थिए । ती विषयमा समेत उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
प्रसाईंले यसअघि पनि ओलीमाथि कम्बोडियामा लगानी रहेको भन्दै आरोप लगाउँदै आएका थिए । र, प्रमाणविनै मिथ्या अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो । यसपटक भने उनले आफ्नो विगतका अभिव्यक्ति पुष्टि गर्ने भन्दै युट्युबरहरुलाई बोलाएका थिए ।
पोखरामा १३ कात्तिकमा आयोजित एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रुपमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद समेत गरेका थिए । कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु’, उनले भनेका थिए, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’
विवादास्पद पृष्ठभूमि
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ६ असोजमा पनि भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । त्यसबेला उनीमाथि एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप लागेको थियो ।
जिल्ला अदालत, काठमाडौंले उनलाई ९ दिनपछि १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो मुद्दा अझै अदालतमा विचाराधीन छ । त्यसो त ५ चैत २०८० मा पनि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । उनले त्यसबेला बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाएका थिए ।
पछि अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित पक्राउ परेका उनका दुई सुरक्षागार्डमाथि मुद्दा चल्यो । त्यसबेला उनका सुरक्षागार्ड लाइसेन्सप्राप्त हतियार लिएर अदालत पुगेका थिए । तर, जाँचका क्रममा एउटा हतियारको लाइसेन्स लिएर अर्कै बोकेको भेटिएको थियो ।
प्रसाईंले कुनै निश्चित समुदायलाई लक्षित गरेर समेत गम्भीर टिप्पणी गर्दै आएका छन् । उनले केही वर्ष पहिले विदेशमा रहेका नेपाली महिलाबारे गम्भीर र असंवेदनशील टिप्पणी समेत गरेका थिए । ती मामलामा उन्मुक्ति पाउँदै आएका प्रसाईं पछिल्लो समय थप अराजक बन्दै आएका थिए ।
सीआईबीका पूर्वप्रमुख डीआईजी हेमन्त मल्लका अनुसार, लोकतन्त्रमा जोसुकैमाथि प्रश्न उठाउन पाइने भएपनि संवेदनशील विषयमा आधारहीन विषय बोल्न मिल्दैन । ‘अझ तपाईं सार्वजनिक व्यक्ति हो भने त झन् बोलीमा नियन्त्रण हुनै पर्छ’, मल्ल भन्छन् ।
प्रसाईं माओवादी, एमाले हुँदै पछिल्लो समय राजावादी समूहसँग नजिक थिए । यद्यपि, पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई ‘स्पेस’ नेदिएको भन्दै उनले राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका छन् । साम्प्रदायिक भड्काउ र हुलहुज्जतको शैलीमा देखा परिरहेका दुर्गा प्रसाईलाई कानुनबमोजिक कारबाही गर्न ढिला भइरहेको भन्दै राज्यपक्षको आलोचना भइरहेका बेला उनी नियन्त्रणमा परेका हुन् ।











प्रतिक्रिया