गृह पृष्ठ

खोटाङका महिला वडा सदस्यका परिवारलाई अभिमुखिकरण गर्दै दलित महिला केन्द्र


२६ बैशाख २०८०, मंगलबार ००:००


दलित महिला केन्द्र नेपालले खोटाङका स्थानीय तहमा निर्वाचित महिला वडा सदस्यका परिवारका पुरुष सदस्यलाई अभिमुखिकरण सुरु गरिएको छ । जिल्लामा सामाजिक कार्यमा लागेका महिलाहरुलाई परिवारबाट सकरात्मक वातावरण सृजना गराउन दलित महिला केन्द्र नेपालले जिल्लामा अभिमुखिकरण सुरु गरेको हो ।

केन्द्रले हाल सम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, सोकला र खोटेहाङ गाउपालिकाका वडा सदस्यको परिवारका ४५ पुरुष सदस्यहरुलाई १ दिने अभिमुखिकरण गरिसकेको छ ।

दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित कार्यक्रम सि लिड्स नेपाल मार्फत जिल्लाको ८ पालिकाका वडाहरुमा निर्वाचित महिला जन प्रतिनिधिहरुका परिवारलाई अभिमुखिकरण भइरहेको सि लिड्स नेपालका सहजकर्ता तथा पुर्व संविधानसभा सदस्य दुर्गाजयन्ती राईले बताइन् ।

अभिमुखिकरणले सदस्यका परिवारलाई जनसरोकारका बिषयमा ज्ञान सिप प्रदान गर्ने, निर्वाचित महिला सदस्यहरुले समाज रुपान्तरणमा अहम भुमिका निर्वाह गर्ने भएकाले घरायसी वातावरण सौहार्दपुर्ण बनाउने प्रति जोड दिइरहेको राईले बताइन् । समाजसेवामा लागेका महिलाका लागि घर परिवारमा सकारात्मक सोचको विकास गर्नपनि अभिमुखिकरणले सहयोग पु¥याउने उनको भनाई छ ।

दलित महिला केन्द्रको आयोजना स्वीस सरकार विकास सहयोग, अस्ट्रेलियन एड, आइ.एस.एफको आर्थिक सहयोगमा खोटाङको बराहपोखरी र जन्तेढुंगा गाउँपालिका बाहेकका स्थानीय तहका वडाहरुमा कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । महिला जन प्रतिनिधिहरुको क्षमता विकासका लागि काम गर्दै आएको दलित महिला केन्द्र नेपालले प्रदेश नम्बर १ का ५ वटा जिल्लामा यस प्रकारको कार्यक्रम लागु गरेको जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार ००:००