खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ आउँदै गरेको ००१ ज ३३८७ नम्बरको जिप शनिबार साँझ दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिदा चालकसहित ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाईते हुनेहरुमा जिप चालक दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई रहेका छन् । उनीहरुलाई गाउँपालिकाको हेल्लो डाक्टर मार्फत प्राथमिक उपचार गरेर जिल्ला अस्पताल दिक्तेल पुर्याइएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो ।
रतन्छाकै चण्डीका राईलाई पनि ४ वर्षको बच्चा सहित जिल्ला अस्पताल लगिएको छ । जिपमा चालक सहित १४ जना सवार रहेका थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुंगा खसेको र फुटाउने काम जारी रहेका कारण बैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जिप पल्टिएर सडकबाट करिब सय मिटर तल खसेको थियो ।











प्रतिक्रिया