खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपा कुसुङखाका स्थानीयहरुले आयातित मदिरालाई प्रतिबन्ध लगाएको छ । गाउँमा आयातित मदिराको प्रयोग बढेसँगै आज सोमबार बसेको स्थानीयको भेलाले ब्रान्डेड मदिरा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
कुसुङखा टारीको सुर्योदय साँस्कृतिक परिवारले आफ्ना २५ सदस्य घरधुरीमा कुनैपनि आयातित मदिराजन्य पदार्थ प्रयोग नगर्ने निर्णय गरेको हो । किरात राईहरूको बाहुल्यता रहेको कुसुङखा गाउँमा गरिने साँस्कृतिक कार्यहरुमा प्रायः आयातित मदिराको प्रयोग बढ्दा समाज खर्चिलो बन्दै गएको तथा धनी र गरिब विचको खाडल बढ्दै गएकाले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष प्रेम राईले जानकारी दिए ।
सामाजिक कार्यहरु विवाह, गुन्यु चोली, छेवर, काजकिरिया, ढोग भेट जस्ता कार्यहरुमा प्रयोग हुने ब्रान्डेड मनिराले गाउँमा बिकृति समेत बढ्दै गएको अध्यक्ष राईले बताए । उनले भने ‘गाउँघरमा सक्नेले ब्रान्डी प्रयोग गर्छन तर नसक्नेले ऋण काढेर भएपनि पु¥याउनु पर्ने बाध्यता पर्न जान्छ । त्यसैले सबै धनी तथा गरिव वर्गले साँस्कृतिक कार्यहरुमा संस्कार संस्कृतिमा चलन चल्तीको स्थानीय उत्पादन (लोकल रक्सी)को प्रयोग गर्ने निर्णय गरेका हौ ।’
सांस्कृति समाजले अन्य पेयपदार्थहरु जस्तै ड्यु, कोक, फेन्टा, स्प्राइट, पेप्सी, रेडबुल लगायतसमेत प्रयोग बन्द गराउने गरी निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिनेश कुमार राईले पनि साँस्कृतिक परिवारले गरेको निर्णयलाई स्वागत गर्दै वडामा सञ्चालित अन्य टोल सुधार समिति तथा सांस्कृति परिवारहरूलाई सोही प्रकृतिको निर्णय गर्न अपिल गरेको वडा बताए ।
उनले आयातित पेयपदार्थलाई बुइपामा पुर्ण रुपमा बन्देज लगाउन प्रयास गर्ने बताउदै यसको प्रतिस्थापनका लागि घरेलु पेयपदार्थ उत्पादन हुन जरुरी रहेको बताएका छन । जसबाट गाउँबाट बाहिरिने गरेको रकमलाई रोक्ने सकिने छ भने स्थानीयको आयआर्जमा समेत बृद्धि हुने वडा कार्यालयले विश्वास लिएको छ ।









प्रतिक्रिया