काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ४१ दिनसम्म सेवा अवरुद्ध हुँदा पनि मर्मत नगरेको र उपभोक्तालाई सास्ती दिएको मुद्दामा उपभोक्ता अदालतले पीडित ग्राहकको पक्षमा फैसला सुनाएको छ । उपभोक्ता अदालतले बिहीबार कम्पनीबाट ग्राहकले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला गरेको हो ।
उपभोक्ता अदालतका न्यायाधीशद्वय गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा आंशिक दाबी पुग्ने फैसला सुनाएका छन् । अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार अदालतले पीडित ग्राहक शिवप्रसाद पौड्याल (शिव प्रकाश) लाई कम्पनीबाट २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय भएको जानकारी दिए । फैसलाको पूर्ण पाठ आउन दुईदेखि तीन हप्ता जति लाग्ने र सङ्क्षिप्त विवरण भने शुक्रबार नै सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाई छ ।
यसअघि गत ५ भदौ २०८३ मा सोही इजलासले दुवै पक्षबिच मेलमिलापका लागि पठाउने आदेश दिएको थियो । तर, क्लासिक टेकले क्षतिपूर्ति नदिने र बरु एक वर्षको इन्टरनेट सेवा मात्र उपलब्ध गराउने अडान राखेपछि मेलमिलाप हुन नसकेको पीडित पौड्यालले बताएका छन् । “मैले अर्कै कम्पनीबाट इन्टरनेट जोडिसकेको थिएँ, त्यसैले क्षतिपूर्ति नदिई एक वर्षको इन्टरनेट मात्र दिने कम्पनीको प्रस्ताव स्वीकार्य भएन,” पौड्यालले टेकपानासँग भने ।
के थियो घटना ?
अदालतमा दर्ता भएको फिरादपत्र अनुसार सन्तोष पौडेलको नाममा १४ अप्रिल २०२५ मा एक वर्षका लागि ६ हजार ३९८ रुपैयाँ तिरेर क्लासिक टेकको इन्टरनेट जडान गरिएको थियो । त्यसपछि १४ अप्रिल २०२६ मा पुनः पाँच हजार ९७८ रुपैयाँ भुक्तानी गरी अर्को एक वर्षका लागि सेवा नवीकरण गरियो । तर, नवीकरण भएको केही दिनमै अर्थात् २२ अप्रिल २०२६ देखि इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भयो ।
इन्टरनेट बिग्रिएपछि मर्मतका लागि पटक-पटक ताकेता गर्दा पनि कम्पनीले चरम लापरवाही र गैरजिम्मेवार व्यवहार देखाएको आरोप फिरादपत्रमा लगाइएको थियो । मर्मत टोलीले कहिले बिजुलीको पोल सारेको त कहिले अर्को कम्पनीले तार काटेको बहाना बनाउँदै पन्छिने काम गरेको र कर्मचारीहरूले फोन होल्डमा राखेर काटिदिने तथा ह्वाट्सएपमा झुटो सूचना दिने गरेको उल्लेख थियो ।
यसबाहेक, कम्पनीका कर्मचारीहरू सीमा केसी र कृशल खड्गीले व्यक्तिगत क्यूआर कोड प्रयोग गरी भुक्तानी लिएको विवरण समेत प्रमाणका रूपमा पेस गरिएको थियो । यस्तै समस्या सन्तोष पौडेलका भाइ फणिन्द्रप्रसाद पौड्यालले पनि भोग्नुपरेको र ११ हजार भुक्तानी गर्दा पनि सेवा नदिइएको फिरादमा उल्लेख थियो ।
नियामकको ‘निरीहता’
समस्या समाधानका लागि पीडित पौड्यालले क्लासिक टेकलाई पचासौं पटक फोन र मेसेज गर्दा पनि सुनुवाइ नभएपछि विभिन्न निकायको ढोका ढकढकाएका थिए । उनले प्रहरी, जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल दूरसञ्चार प्राधिकरण, हेलो सरकार, सञ्चार मन्त्रालय, सञ्चारमन्त्री र सांसदहरूसम्म पुगेर आफ्नो समस्या राखेको उनले सुनाए ।
गत १७ वैशाखमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई जानकारी गराउँदा मन्त्रीले आश्वासन दिए पनि कम्पनीले अटेरी गरेको थियो । उता हेलो सरकारमा दिइएको उजुरीमा भने सम्बन्धित निकायले ‘समस्या समाधान भइसक्यो’ भनी झुटो रिपोर्ट पठाएको पौड्यालको आरोप छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन निर्देशक अर्जुन घिमिरे (हाल अध्यक्ष) को रोहबरमा २५ वैशाखमा भएको छलफलमा सेवा अवरुद्ध हुँदा डेटा चलाउनुपरेको खर्च र मानसिक तनावबापत १० हजार रुपैयाँ मात्र क्षतिपूर्ति माग्दा पनि क्लासिक टेकका प्रतिनिधि सुशीलसिंह थापाले कम्पनीको नीतिमा क्षतिपूर्ति दिने प्रावधान नभएको भन्दै अस्वीकार गरेका थिए ।
कानुनी तथा संवैधानिक आधार
सम्बन्धित सबै निकायमा अधिकार र जिम्मेवारी हुँदाहुँदै पनि निरीह देखिएपछि पौड्यालले ४० दिनसम्म रिफन्डको पर्खाइ पछि ४१ औं दिनमा उपभोक्ता हित संरक्षण मञ्चमार्फत उपभोक्ता अदालतमा १० लाख क्षतिपूर्ति माग गर्दै फिरादपत्र दर्ता गरेका थिए ।
फिरादपत्रमा क्लासिक टेकको लापरवाहीले नेपालको संविधानको धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक), धारा १७ (अभिव्यक्ति स्वतन्त्रता), धारा २७ (सूचनाको हक) र धारा ४४ (उपभोक्ताको हक) को उल्लङ्घन भएको जिकिर गरिएको थियो । साथै, कम्पनीले ‘प्याक्टा सुन्ट सेर्भान्डा’ अर्थात् सम्झौताको अनिवार्य पालना गर्नुपर्ने सर्वमान्य कानुनी सिद्धान्तको धज्जी उडाएको र दैनिक अनुसन्धान तथा लेखन कार्यमा बाधा पुर्याई मानसिक यातना दिएको दाबी गरिएको थियो ।
अदालतको फैसलापछि प्रतिक्रिया दिँदै पौड्यालले यो कानुनी लडाइँ पैसा वा व्यक्तिगत क्षतिका लागि मात्र नभई उपभोक्ता अधिकार स्थापित गर्न र चेतना फैलाउन भएको बताए । “कहिलेकाहीँ एउटा व्यक्तिको आवाज व्यक्तिगत गुनासोमा सीमित हुँदैन, त्यो धेरै मानिसको साझा आवाज बन्न सक्छ,” उनले भने, “मेरो यो प्रयास पनि त्यही विश्वासबाट प्रेरित छ ।”
पछिल्लो अध्यावधिक: असोज ४, २०८३











प्रतिक्रिया