Breaking News Post

छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण


१४ माघ २०८१, सोमबार ००:००


कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका-७ कुइनेमा ४५ वर्षीय सरस्वती विकलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा विकलाई बाघले आक्रमण गरेको बताए ।

उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई गएराति साढे १० बजेतिर बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट उहाँको टाउको र अनुहारमा चोट लागेको गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्ययले जानकारी दिए।

विकलाई छाउगोठमा सुतेको बेला बाघले आक्रमण गरेपछि वरपरका मानिसहरूले होहल्ला गर्दा बाघ भागेको थियो । गाउँपालिका अध्यक्ष उपाध्ययका अनुसार उहाँलाई अहिले उपचारको लागि लम्किस्थित लालरत्न अस्पताल लगिएको छ । सुदुरपश्चिमा महिनावारी भएको बेला छाउगोठ बस्ने चलन अन्त्य नुहँदा महिला असुरक्षित हुने गरेका छन् ।

प्रकाशित : १४ माघ २०८१, सोमबार ००:००