गृह पृष्ठ

टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता


२ जेष्ठ २०८२, बिहिबार ००:००


काठमाडौं, पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।

मुद्दा दायर भएका अन्यमा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् । आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

प्रकाशित : २ जेष्ठ २०८२, बिहिबार ००:००