Breaking News Post

डेढ घण्टाको परामर्शपछि चोलेन्द्रलाई राति २ बजे पुर्‍याइयो प्रहरी कार्यालय


११ आश्विन २०८३, आइतबार ००:००


११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाराजगञ्जस्थित घरमा राति करिब साढे १२ बजेतिर प्रहरी पुग्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यराति घर पुगेपछि घरमा हल्लाहल्ला भयो । महाराजगञ्ज क्षेत्र पर्ने भएकाले त्यहाँको प्रहरी वृत्तलाई पनि यसबारे जानकारी गराइयो ।

मध्यराति साढे १२ बजेतिर पूर्वन्यायाधीशको घरमा पुगेको डीएसपी कमाण्डको टोलीले जबरालाई प्रहरी कार्यालय जान भन्यो । तर जबराले प्रहरीको यो भनाइलाई सुरुमा ठाडै अस्वीकार गरेका थिए ।

उनलाई त्यतिबेला प्रहरीले ‘सुरक्षा थ्रेट’ भएको दाबी गर्दै आफूसँगै लिएर जाने भनेको थियो । तर जबराले भने अस्वीकार गरे । प्रहरी स्रोतका अनुसार करिब डेढ घण्टाको परामर्शपछि बल्ल प्रधानन्यायाधीश जबरालाई प्रहरीले घरबाट उठायो ।

अपराध अनुसन्धान कार्यालयबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरीहरु जबराको घर पुगेका थिए । राति करिब २ बजेतिर उनलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयको पुर्‍याइयो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर जबरासँग सोधपुछ गरियो । तत्कालै पक्राउ गर्नुपर्ने अवस्था आएपछि शनिबार राति समेत एसएसपी खड्का कार्यालयमै थिए ।

पूर्वप्रधानन्यायाधीश जबरालाई डीएसपीको टोलीले करिब २ बजे प्रहरी कार्यालय छिराएपछि एसएसपी खड्काकै कार्यकक्षमा राखेर सोधपुछ गरिएको थियो ।

‘जेनजीबाट आक्रमण’ हुने सूचना पाएको प्रहरीको दाबी

पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्ति मध्यराति किन पक्राउ परे भन्ने विषय अहिलेसम्म अन्यौलमै छ । यसबारे अनलाइनखबरसले एसएसपी खड्कासँग जिज्ञासा राखेको थियो ।

चोलेन्द्र शमशेरविरुद्ध भने कुनै पक्राउ पूर्जी जारी नभएको प्रहरीले समेत पुष्टि गरेको छ ।

सो क्रममा खड्काले ‘सुरक्षा थ्रेट’ कारण कार्यालयमा ल्याइएको दाबी गरे । ‘मध्यराति नै भौतिक रुपमा आक्रमण हुनेसम्मको सूचना आएपछि सुरक्षाका लागि ल्याइएको हो,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।

पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्तिलाई सुरक्षा थ्रेट भएका अवस्थामा सुरक्षाकर्मी थपेर घरमै सुरक्षा दिनसक्ने अवस्था हुँदाहुँदै मध्यराति नै प्रहरी कार्यालयमा लैजानुले प्रहरीको दाबी कति सत्य हो भन्ने प्रश्न पनि उठेको छ ।

मध्यराति प्रहरी कार्यालय लैजानुको कारणबारे एसएसपी खड्काको दाबी छ, ‘हामीलाई सूचना नै मध्यराति ढिलो आएको थियो । अनि तत्कालै सुरक्षा सुरक्षा प्रदान गर्नुपर्ने भएकाले ल्याइएको हो ।’

प्रहरीले जबरामाथि ‘जेनजी’बाट आक्रमण हुनेसम्मको सूचना रहेको दाबी गरेको छ । सर्वोच्च अदालतको इतिहासमै पहिलो पटक यसरी पूर्वप्रधानन्यायाधीश पक्राउ परेका हुन् ।

उनीविरुद्ध भने कुनै पक्राउ पूर्जी जारी नभएको प्रहरीले समेत पुष्टि गरेको छ । पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्तिलाई बिना पक्राउ पूर्जी मध्यराति पक्राउ गर्नुले प्रहरीलाई माथिको प्रेसरले काम गरेको हुनसक्ने आशंका पनि गरिएको छ ।

वीरशमशेर पनाति हुन् चोलेन्द्र

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमसेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।

जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।

उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन् चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।

वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।

राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी तालिमसमेत लिएका छन् ।

उनी ०७१ जेठमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेका थिए ।  २०७५ पुसमा उनी प्रधानन्यायाधीश बनेका थिए । २०७८ फागुनमा उनीविरुद्ध महाअभियोग दर्ता भयो । त्यसपछि निलम्बनमा परेका थिए ।

गत २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको भन्दै रिट खारेज गरेको थियो ।

प्रकाशित : ११ आश्विन २०८३, आइतबार ००:००