गृह पृष्ठ

थुलुङ दुधकोशी गाउँपालिकाले भुउपयोग वर्गीकरणको काम सम्पन्न


८ बैशाख २०८०, शुक्रबार ००:००


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले भुउपयोग वर्गीकरणको काम सम्पन्न गरेको छ । गाउँपालिकाले विभिन्न १० भागमा जग्गा वर्गीकरण गरी नापी तथा मालपोत कार्यालयमा प्रतिवेदन पेश गरेको हो ।

भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ बमोजिम पालिकाले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सीमसार, सार्वजनिक उपयोग तथा संस्कृतिक तथा पुरातात्विक महत्व लगायतका क्षेत्रमा जग्गा वर्गीकरण गरिएको गाउँपालिका नापी शाखाका अमिन सुबोध बस्नेतले बताए । उनका अनुसार पालिकाबाट छुट्टिएको ५ लाख बजेटबाट पालिकाले नै वर्गीकरणको काम सम्पन्न गरेको हो ।

गत मंसिर २७ गतेबाट सुरु भएको काम सम्पन्न गरी वैशाख ६ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार प्रतिवेदन पेश गरिएको अमिन बस्नेतको भनाई छ । यससँगै थुलुङ दुधकोशीले आगामी आईतबारबाट जग्गा वर्गीकरणको सेवा सुरु गर्ने गाउँपालिकाको नापी शाखाले जनाएको छ ।

यस अघि लिखुपिके गाउँपालिकाले वर्गीकरणको काम सकेर नापी तथा मालपोतमा प्रतिवेदन बुझाएपनि प्राविधिक त्रुटिका कारण काम अघि बढ्न नसकेको नापी अधिकृत इन्जिनियर महेश थापाले बताए । लिखुपिकेले प्राविधिक कम्जोरी सच्याउने काम गरिरहेकाले केहि दिन भित्रैमा पेश गर्ने तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार ००:००