Breaking News Post

दुर्घटनामा पक्राउ परेका झाँक्री भुजेलको लाइसेन्समाथि अनुसन्धान


२९ कार्तिक २०८१, बिहिबार ००:००


काठमाडौं,बुधबार दिउँसो जोरपाटीमा सवारी दुर्घटना भएकाे छ । साे दुर्घटनामा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन । दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । साथमा लाइसेन्स नभएका झाँक्रीले घरमा रहेको दाबी गरेका छन् ।

प्रहरीले घरबाट लाइसेन्स मगाएको छ । ‘उनीसँग लाइसेन्स छ छैन भन्ने यकिन हुन बाँकी नै रहेकाे छ । हामी अनुसन्धान गर्दैछौं’, प्रहरी वृत्त बौद्धका एक प्रहरी भन्छन् । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहिबार ००:००