Breaking News Post

धुन्चेका वडाध्यक्ष भन्छन्, ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’


१० भाद्र २०८३, बुधबार ००:००


१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकाका लगायतका स्थानीय तहमा ठूलो क्षति भएको छ । धेरै नागरिक सम्पर्कविहीन छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् ।

गोसाइकुण्ड गाउँपालिका-६ धुन्चेका अध्यक्ष दावा सिदार वाइबाका अनुसार बाढी आएको क्षेत्रमा ठूलो क्षति भएको छ । उनले स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग सम्पर्क हुुन नसकेको बताए

वडाध्यक्षको भनाइ-

हामी यहाँ रसुवा सदरमुकाम धुन्चेमा छौं । तल के कति क्षति गरेको हो, केही पनि थाह हुन सकेको छैन । स्याफ्रुबेशी बजारदेखि तल टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन । हामी जान पनि सकेका छैनौं । भर्खरै नेपाली सेनाको हेलिकप्टर त्यतातिर गएको छ, त्यहाँबाट फर्केर आएपछि केही थाह होला ।

स्याफ्रुबेशी बजारसम्म बाढी आएको भन्ने हल्ला छ । तल भएकाहरु के कति कारणले सम्पर्कविहीन भएका हुन्, थाह छैन । टेलिफोन टावर गएर सम्पर्कविहीन भएका हुन् कि अरु कुनै समस्या छ, यसै भन्न सकिने छैन । अब उद्दारकर्मीहरु आएपछि थप थाह होला ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार ००:००