Breaking News Post

न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालको निरन्तर कूटनीतिक भेटवार्ता


७ आश्विन २०८३, बुधबार ००:००


काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो निरन्तर कूटनीतिक भेटवार्ताका क्रममा मंगलबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साधारण बहसको उद्घाटन समारोहमा सहभागिता जनाएका छन् । साधारण बहस ‘रि-स्टोरिङ ट्रस्ट, म्यानेजिङ ट्रान्सफर्मेसन : अ युनाइटेड नेसन्स द्याट डेलिभर्स फर अल’ (विश्वास पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ) भन्ने मूल विषयमा आयोजना गरिएको थियो ।

साधारण बहसको उद्घाटन महासभाका अध्यक्ष डा. खलिलुर रहमानले गरेका थिए । त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका थिए भने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूले पनि सम्बोधन गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि मंगलबार दिउँसो खनालले भारत सरकारद्वारा आयोजित ‘उज्ज्वल भविष्यतर्फ सँगसँगै अघि बढ्दै :  सशक्त ग्लोबल साउथका लागि बलियो आधार’ विषयक ‘समान विचारधारा भएका ग्लोबल साउथका देशहरू र मित्रराष्ट्रहरू’ को उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका थिए ।

खनालले साझा विश्वव्यापी चुनौती सम्बोधन गर्न तथा साझा प्राथमिकतालाई अघि बढाउन ग्लोबल साउथका मुलुकबीच ऐक्यबद्धता, सहकार्य र सामूहिक कार्यको महत्त्वमा जोड दिए ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार ००:००