Breaking News Post

पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे


११ आश्विन २०८३, आइतबार ००:००


११ असोज, काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

घटनामा हालसम्म मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०८३, आइतबार ००:००