गृह पृष्ठ

पहिलो पटक मानवीर, सातौं पटक बलबहादुर, सोलुखुम्बुमा आखिर कसले बाजि मार्लान् ?? एक विश्लेषण ।।


९ कार्तिक २०७९, बुधबार ००:००


बलबहादुर केसी ०६४ र ०७४ को निर्वाचनमा माओवादीसँगै पराजित भएका थिए । रोचक के भने जसले उनलाई दुई वटा निर्वाचन हराए, यस पटक केसीलाई निर्वाचन जिताउने सारथी तिनै माओवादी बनेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्ने दिन थियो, अस्ति २३ असोजमा । त्यसको अघिल्लो दिन बिहान सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको थियो ।

सत्ता गठबन्धनका लागि टिकट वितरण गर्न सबैभन्दा पेचिलो बनिरहेको थियो, सोलुखुम्बूको प्रतिनिधिसभा । जहाँ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस दुवैले दाबी गरिरहेका थिए । माओवादीको दाबी यसर्थ थियो कि ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राई (सुरवीर) विजयी भएका थिए । अघिल्लो निर्वाचनमा जहाँ जसले जितेको छ, त्यहाँ उसैले टिकट पाउने सत्ता गठबन्धनमा आन्तरिक सहमति थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलबहादुर केसी २२ असोज बिहान ११ बजेतिर सत्ता गठबन्धनको बैठक बसिरहेको स्थान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै पुगे । जानकारका अनुसार जहाँ केसीलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले फोन गरेर बोलाएका थिए । स्मरण रहोस्, कांग्रेसभित्र गुटका हिसावले केसी र थापा एकै ठाउँ छन् भने उनीहरु दुवैको पुर्ख्यौली थलो सोलुखुम्बूको सल्यान नै हो ।

बाबुको जागिरका सिलसिलामा कांग्रेस महामन्त्री थापा सिन्धुपाल्चोकमा जन्मिएका र हाल काठमाडौंको रातोपुलमा स्थायी बसोबास भए पनि उनको पुर्ख्यौली थलो सोलुखुम्बूको साविक सल्यान गा.वि.स. वडा नं. ९ खाल्पा हो । यसबेला उक्त स्थान नेचा–सल्यान गाउँपालिका वडा नं. १ मा पर्छ । बालुवाटारमा पुगेर केन्द्रीय सदस्य केसीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामुन्नेमा भनिदिए, ‘म सोलुखुम्बूमा अन्तिम पटक निर्वाचन लड्दैछु । त्यहाँ मलाई टिकट नदिने हो भने सोलुखुम्बूमा मात्र होइन, देशैभर बागी उम्मेदवार उठाई दिन्छु । तपाईहरुले टिकट दिनुस्, नदिनुस्, म उम्मेदवारी दर्ता गर्न हिडेँ ।’ त्यसबेलासम्म केसी समूहका नेता शेखर कोइराला, महामन्त्री थापालगायत पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनसँग असन्तुष्ट थिए । त्यसैले शेखर कोइराला र केसीले देशैभरी बागी हालिदेलान् भनेर देउवा–प्रचण्डको मनमा ढ्याग्रो ठोक्नु स्वभाविकै थियो ।

नभन्दै केसी बालुवाटारबाट नक्साल निल सरस्वतीथान घर फर्किएर उम्मेदवारी दर्ताका लागि सोलुखुम्बू हिंडे । सुस्त रुपमै सही, देउवा–प्रचण्डले उनलाई बालुवाटारमा ‘उम्मेदवारी दर्ता गर्न जानु’ भनेर संकेत दिईसकेका थिए । काभ्रेको भकुण्डेबेंसी पुग्दा केसीलाई फोन गरेर टिकट सुनिश्चित भएको जानकारी दिइएको थियो ।

अन्तिम क्षणमा सोलुखुम्बूमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा बलबहादुर केसी र प्रदेशसभाका दुई वटै उम्मेदवार माओवादी केन्द्रका भागमा छ । जानकारका अनुसार सोलुखुम्बुमा दुई वटा र मोरङ क्षेत्र नं. ६ को प्रदेशसभामा प्रचण्डका कान्छा ज्वाई जीवन आचार्यलाई गरी तीन वटा प्रदेशसभाको टिकट लिएर माओवादीले सोलुखुम्बूको प्रतिनिधिसभा कांग्रेस नेता केसीलाई छाडेको थियो । सोलुमा पूर्व मन्त्री केसी सातौं पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ०७४ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईसँग पराजित भएपछि उनले आगामी निर्वाचन नलड्ने, पुस्तान्तरण गर्ने घोषणा गरेका थिए । तर, अहिले फेरि अन्तिम पटक भन्दै चुनावी मैदानमा छन् ।केसी ०६४ र ०७४ को निर्वाचनमा माओवादीबाटै पराजित भएका थिए । रोचक के भने जसले उनलाई दुई वटा निर्वाचन हराए, यस पटक केसीलाई निर्वाचन जिताउने सारथी तिनै माओवादी बनेका छन् । सोलुमा कांग्रेस–माओवादीबीच कति ठूलो अन्तरबिरोध थियो भने ०६४ सालको संविधानसभा निर्वाचनको सम्मुखमा माओवादीहरुले केसीलाई तत्कालीन केरुङ गा.वि.स.को सिसाखोलामा हत्या गर्ने योजनाका साथ आक्रमण गरेका थिए ।

०३५/०३६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका, आन्दोलनलाई अन्तर्घात गर्यो भनेर अस्कल क्याम्पस ठमेलदेखि नयाँ सडकसम्म कालोमोसो दलेर घुमाइएका लडाकू स्वभावका केसी पक्षले खरो प्रतिवाद गरेपछि माओवादीले उनको हत्या गर्न सकेनन् । उल्टै माओवादी वाइसीएल सोलुखुम्बूका सचिव गंगा भुजेल मारिए । भुजेल मारिएको विषयमा माओवादीले आन्दोलन ‘उग्र’ बनाउने धम्की दियो । यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भुजेललाई सहिद घोषणा गर्दै राज्य कोषबाट ७ लाख रुपैयाँ दिए । माओवादी एकाएक मौन भयो । अस्ति ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि सोताङ गाउँपालिकामा माओवादी र नेपाली कांग्रेसबीच भिडन्त भयो । कांग्रेसबाट माओवादीका एक कार्यकर्ता मारिए । तर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा त्यही कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । केसीलाई आफ्नै पार्टीभित्रको आङगेलु शेर्पा खेमाले भने अहिलेसम्म खुलेर सहयोग गरेको छैन ।

एमालेबाट मानवीर सर्वसम्मत
नेकपा (एमाले) ले सोलुखुम्बूका पुराना कार्यकर्ता एवं केन्द्रीय सदस्य मानवीर राईलाई सर्वसम्मत टिकट थमाएको छ । तत्कालीन बासा गा.वि.स. स्थित खालीका राई ०४६ मा बहुदल स्थापना भएदेखि नै एमालेमा लामवद्ध छन् । ०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभाका लागि एमालेले उनै राईलाई सर्वसम्मत सिफारिस गरेको थियो । तर, अन्तिममा माओवादीको कोटामा पर्यो । माओवादीबाट हेमकुमार राईले टिकट पाए । प्रतिनिधिसभामा माओवादीका राई र प्रदेशसभाका दुई वटै सिट एमालेका बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतले बाजी मारेका थिए ।

राई जिल्लाभित्र लोकप्रिय छन् । जानकारका भनाइमा सदरमुकाममै बसेर सर्वसाधारणका साना–साना समस्यामा पनि अघि सरेर काम गरिदिन्छन् । एमालेले राईको यही साधारणपनलाई जित्ने आधार मानेको छ । तर, एमालेलाई प्रतिनिधिसभामा आफ्ना पक्षमा जित निकाल्न भने त्यति सहज छैन । स्थानीय तह निर्वाचनको परिणामले त्यस्तै संकेत गर्छ । सोलुखुम्बूमा आठ वटा स्थानीय तह छन् । जसमध्ये अस्ति भर्खरैको स्थानीय निर्वाचनमा एमालेले खुम्बू पासाङ ल्हमु र माप्य दुधकोसी गाउँपालिकामा मात्र जित हासिल गरेको छ । दुधकुण्ड नगरपालिका, लिखुपिके, नेचा सल्यान, सोताङ, महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । थुलुङ दुधकोसी गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।

खुम्बू पासाङ ल्हमु गाउँपालिकामा नेकपा (एमाले) दुई हजार २८ मत ल्याएर विजयी भएको थियो भने नेपाली कांग्रेसले एक हजार ६ सय ९ मत प्राप्त गरेको थियो । त्यहाँ माओवादीलाई ९९ मत खसेको थियो । स्थानीय निर्वाचनमा माप्य दुधकोसी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । तर, पनि एमालेले तीन हजार तीन सय ४३ मत ल्याएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्यो । त्यहाँ कांग्रेस–माओवादीको मत दुई हजार नौ सय ८७ छ । अर्का दुई उम्मेदवारले त्यहाँ १८ मत प्राप्त गरेका थिए ।

लिखुपिके गाउँपालिका नेपाली कांग्रेसकी मीना कार्की, बस्नेतले एक हजार दुई सय ६० मत पाएर विजयी भएकी थिइन । अनि माओवादी उम्मेदवारले ११ सय १३ र नेकपा (एमाले) ले पाँच सय ८० मत ल्याएका थिए । दुधकुण्ड नगरपालिका नेपाली कांग्रेस चार हजार नौ सय ६८, नेकपा एमालेको चार हजार तीन सय ९०, माओवादी केन्द्रको ११ सय ९७ र जसपाको ९२ छ ।

नेचा सल्यान गाउँपालिका नेपाली कांग्रेस दुई हजार पाँच सय ६९, नेकपा (एमाले) दुई हजार तीन सय १३, माओवादी केन्द्रको ११ सय १९ मत छ । त्यहाँ अरु दलले ७२ मत पाएका थिए । थुलुङ दुधकोसी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चार हजार ४९, नेपाली कांग्रेसले तीन हजार पाँच सय ११ र नेकपा (एमाले) ले १६ सय एक मत प्राप्त गरेको थियो । सोताङ गाउँपालिकामा नेपाली कांग्रेसका खीलराज बस्नेत एक हजार ६ सय ४८ ल्याएका थिए भने त्यहाँ एमाले एक हजार पाँच सय २० मत पाएर दोस्रो भएको थियो । माओवादी केन्द्रले एक हजार तीन सय ५३ मत पाएको थियो । महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेसले २१ सय मत ल्याएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेको छ । त्यहाँ १६ सय २६ मत ल्याएर माओवादी केन्द्र दोस्रो र १४ सय ५३ मत प्राप्त गरी एमाले तेस्रो भएको थियो । स्थानीय तहमा अध्यक्ष पदमा प्राप्त मत अनुसार नेपाली कांग्रेसको २० हजार ६ सय ५२, नेकपा (एमाले) १७ हजार चार सय एक र नेकपा (माओवादी केन्द्र) ले १० हजार पाँच सय ५६ मत छ । यसमा माओवादीको माप्य दुधकोसी गाउँपालिकाको मत जोडिएको छैन । किनकी माथि नै उल्लेख भइसक्यो, त्यहाँ नेपाली कांग्रेस र माओवादीको गठबन्धन थियो ।

स्थानीय तहमा प्राप्त परिणाम अनुसार सोलुमा कांग्रेस–माओवादीको मत ३१ हजार २ सय आठ र नेकपा (एमाले) को १७ हजार चार सय एक छ । जानकारका अनुसार माओवादीबाट केसीलाई खासै अन्तर्घात हुन्न, जति कांग्रेसभित्रैबाट हुन्छ । माओवादीहरु उनलाई न्वारनदेखिको बलले सहयोग गर्न लागिपरेका छन् । केसीलाई असहयोग गरे प्रदेश सभामा जित्न सकिन्न भन्ने माओवादीको निष्कर्ष छ । कांग्रेस–माओवादीको मत एमालेभन्दा झण्डै दोब्बर नै बढी भएकाले सामान्य अन्तर्घातले नहार्ने, जित आफ्नै पक्षमा आउने केसी समूहको निष्कर्ष रहेको नेपाली कांग्रेस सोलुका एक जना जिल्ला नेता बताउँछन् ।

यता एमाले भने राईले वर्षौदेखि जिल्लामै बसेर सर्वसाधारण (मतदाता) को निरन्तर सेवा गरेकाले स्थानीय तहको मत परिणामको अर्थ नहुने बताएको छ । राईको अर्को सबल पक्ष भनेको उनको सरल स्वभाव हो । केही हदसम्म मात्र भए पनि सोलुमा राईहरुको मत बढी भएकाले मानवीर त्यही समुदायका हुन् । चार पटकसम्म बलबहादुर केसीलाई सोलुखुम्बूका जनताले भोगिसकेकाले यस पटक राईले जित्ने नेकपा (एमाले) जिल्ला कमिटी सोलुका एक जना सचिवालय सदस्य बताउँछन् । बलबहादुर केसी
सबल पक्ष
चार पटक सांसद, तीन पटक मन्त्री भइसकेको अनुभव
केन्द्रमा पहुँच भएका स्थापित नेता
माओवादीको बलियो साथ
मैले जिते मन्त्री हुन्छु, अरुले जिते सांसद मात्र भन्ने प्रचार

दुर्बल पक्ष
अघिल्लो पटकको आफ्नै बाचा विपरीत उम्मेदवार
पटक–पटक लाभको पद लिइसकेका
टिम्बुरबोटे सहिद स्मृति पार्क प्रतिष्ठानको करोडौं आर्थिक अनियमिततामा मुछिएका
पार्टीभित्रैबाट ठूलो असन्तुष्टि र असहयोग

मानवीर राई
सबल पक्ष
जिल्लामा निरन्तर क्रियाशिल
सरलपन, सर्वसाधारणको मन जितेका
थोरै नै सही, राईहरुको बाहुल्यता भएकाले त्यही समुदायभित्रका
अवसर नपाएकालाई अवसर दिनपर्छ भन्ने मतदाताको चाहना

दुर्बल पक्ष
पार्टीको कमजोर पकड
कांग्रेस एक्लैको बाहुल्यता
पार्टी केन्द्रको प्राथमिकता र चासोमा नपरेको जिल्ला
जितेमा सांसद मात्र हुने हो भन्ने आशंका

प्रकाशित : ९ कार्तिक २०७९, बुधबार ००:००