समाचार

पूर्वानुमान विपरीत मनसुनमा सरदर वर्षा, हिमाली क्षेत्रमा धेरै


२२ आश्विन २०८३, बिहिबार ००:००


२२ असोज, काठमाडौं । मौसम विज्ञान विभागको पूर्वानुमान विपरीत यस वर्षको मनसुन अवधिमा नेपालमा सरदर वर्षा भएको छ ।

नेपाल मौसम विज्ञान विभागले यस वर्ष अलनिनोको प्रभावका कारण मनसुनी वर्षा सरदरभन्दा कम हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर देशभरका १२४ वटा वर्षा मापन केन्द्रको तथ्यांक अनुसार यस वर्षको मनसुनमा ९५.४ प्रतिशत वर्षा भएको छ ।

नेपालमा मनसुन अवधिमा ९० देखि ११० प्रतिशतसम्म वर्षा हुनुलाई औसत वा सरदर वर्षाको रूपमा लिने गरिन्छ ।

मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा भएको वर्षाको तथ्यांक औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । तर विभाग स्रोतबाट अनलाइनखबरलाई प्राप्त जुनदेखि सेप्टेम्बरसम्मको मापनका आधारमा पनि देशभरको वर्षा १ हजार ३१७.१ मिलिमिटर रेकर्ड भएको छ । यो अवधिको सामान्य वर्षा १ हजार ३८० मिलिमिटर हो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । यो सरदर मिति कहिलेकाहीँ तलमाथि पनि हुने गरेको छ । यस वर्ष नेपालमा १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो । आज ८ अक्टुबर अर्थात् असोज २२ गतेसम्म पनि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिसकेको छैन ।

नेपाल मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा आजसम्म पनि मनसुन कायमै रहेकाले मनसुन अवधिमा भएको वर्षाको विश्लेषण गरिनसकेको बताइन् । यद्यपि यस वर्ष ‘राम्रै वर्षा’ भएको प्रारम्भिक अनुमान गरेको उनले बताइन् ।

‘अलनिनो वर्षमा मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान थियो तर यस वर्ष राम्रै वर्षा भएको छ,’ विभागकी प्रवक्ता पोखरेल भन्छिन्, ‘ठ्याक्कै कति वर्षा भयो भनेर चाहिँ मनसुन बाहिरिसकेपछि विश्लेषण गर्नेछौं ।’

हिमाली र उच्च पहाडी भेगमा बढी वर्षा, कोशीको पूर्वी भागमा कम

मनसुन अवधिभर भएको वर्षा सरदर देखिए पनि देशभर वर्षाको अवस्था भने एकरूप थिएन । हिमाली तथा केही पहाडी क्षेत्रमा सरदर वर्षाको प्रतिशत हेर्दा सामान्यभन्दा बढी देखिन्छ ।

विशेषगरी उत्तर–पश्चिमी हिमाली क्षेत्रका भूभागमा सामान्यको २०० प्रतिशतसम्म वा त्यसभन्दा पनि बढी वर्षा भएको छ । वर्षाको तुलनामा हिउँ बढी पर्नुपर्ने हिमाली क्षेत्रमै धेरै पानी पर्नुलाई राम्रो संकेत नमानिने मौसमविदहरु बताउँछन् ।

मध्य तथा पश्चिमी पहाडी भूभागको ठूलो हिस्सामा भने वर्षा सरदर वर्षा भएको छ । त्यहाँ अधिकांश क्षेत्रमा सामान्यको ९० देखि ११० प्रतिशत हाराहारी वर्षा भएको देखिन्छ ।

यसको ठीक उल्टो अवस्था पूर्वी तथा दक्षिणपूर्वी तराईमा देखिन्छ । त्यहाँका धेरै भूभागमा सामान्यभन्दा कम वर्षा भएको छ ।

कतिपय क्षेत्रमा सामान्यको ७५ देखि ९० प्रतिशत मात्रै वर्षा भएको देखिन्छ झापाको अधिकांश भूभाग, इलामको दक्षिणी भूभाग र मोरङको पूर्वी भूभागमा यो ५० देखि ७५ प्रतिशत सम्म झरेको छ ।

मनसुन अवधिभरको वर्षाको मात्रा गणना गर्ने हो भने कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागमा बढी वर्षा भएको छ । कुल वर्षाको तुलना गरेर हेर्ने हो भने यी भूभागमा २००० मिलिमिटर भन्दा बढी वर्षा भएको देखिन्छ ।

यसैगरी मनसुन अवधिभरको औसत वर्षाको तुलनामा गरेर हेर्ने हो भने कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा बढी वर्षा भएको छ । यी भूभागमा सरदर वर्षाको १२५ प्रतिशतसम्म वर्षा भएको देखिन्छ ।

कोशी प्रदेशका तराई भूभागमा भने सरदर वर्षाको तुलनामा कम वर्षा भएको छ ।

मनसुन पूर्णरुपमा बाहिरिएपछि मौसम विज्ञान विभागले औपचारिक रुपमा सार्वजनिक गर्ने तथ्यांकमा भने यो आँकडा केही तलमाथि हुनसक्छ ।

 न्यूनचापीय प्रणालीको प्रभावले बढायो वर्षा

मनसुनका सुरुका महिना (जुन, जुलाई र अगस्ट) मा वर्षा सामान्यको करिब ९० प्रतिशत आसपास थियो । तर मनसुनको अन्तिम चरण अर्थात् सेप्टेम्बरमा बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा वर्षाको मात्रा बढेको थियो ।

सोही वर्षाले समग्रमा मनसुनी वर्षाको मात्रा सरदरमा पुगेको मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका वरिष्ठ मौसमविद सुजन सुवेदी बताउँछन् । ‘जुन, जुलाई, अगस्टमा सरदरभन्दा कम वर्षा थियो तर सेप्टेम्बर महिनामा राम्रै वर्षा भयो र ओभरअल सिजनलाई नर्मलमा पुर्‍यायो,’ उनले भने ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण असोज ७ गतेदेखि ११ गतेसम्म (सेप्टेम्बर २३ देखि २७ सम्म) नेपालभर वर्षा भएको थियो । धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा मापन भएको थियो । केही स्थानमा अति भारी वर्षासमेत भएको थियो ।

यस वर्ष विगतका वर्षायाममा जस्तो पटक–पटक मनसुनी रेखा नेपालतिर आउने गतिविधि कम देखियो तर जलवाष्पयुक्त हावाले भने वर्षा गराइराख्यो ।

बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणाली र नेपालमा हुने वर्षाको गतिविधिबीच सकारात्मक सम्बन्ध हुने भएकाले यही वर्षाको गतिविधिले मनसुनको समग्र वर्षाको अवस्थालाई सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषण मौसमविदहरुको छ ।

यस वर्ष एलनिनोको प्रभावका कारण नेपालमा मनसुन तुलनात्मक रूपमा सुख्खा हुने अनुमान गरिएको थियो । एलनिनो वर्षमा समग्र दक्षिण एसियाली मुलुकहरुमा मनसुनी वर्षा कम हुने गर्दछ । सोही अनुसार भारत लगायतका देशका केही भूभागले सुख्खाको सामना गर्नुपरेको छ । तर नेपालमा भने निरन्तर वर्षा जारी रह्यो ।

‘यस वर्ष विगतका वर्षायाममा जस्तो पटक–पटक मनसुनी रेखा नेपालतिर आउने गतिविधि कम देखियो तर जलवाष्पयुक्त हावाले भने वर्षा गराइराख्यो । विशेषगरी नेपालका पहाडी भूभागमा राम्रै वर्षा भयो,’ मौसम विज्ञान विभागका अर्का मौसमविद अशोक बख्रेलले भने । उनका अनुसार यसले लामो समयसम्म अत्यधिक सुख्खा रहने अवस्थाबाट नेपाललाई जोगाएको छ ।

केही केन्द्रमा ४ हजार मिलिमिटरभन्दा बढी वर्षा

नेपाल मौसम विज्ञान विभागका अनुसार नेपालका केही स्थानमा मनसुन अवधिभर ठूलो परिमाणमा पानी परेको छ । भौगोलिक बनोट र मनसुनी प्रणालीको प्रभावका कारण विशेषगरी मध्यपहाडी तथा उच्च वर्षा हुने क्षेत्रका केही केन्द्रमा ३–४ हजार मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

सर्वाधिक वर्षा मापन गरिएका प्रमुख केन्द्रमध्ये सिन्धुपाल्चोकको गोब्रेमा यस वर्षको मनसुन अवधिमा ४,०५०.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै कास्कीको लुम्लेमा ३,८७३.४ मिलिमिटर र लमजुङको भुजुङमा ३,६११.२ मिलिमिटर वर्षा मापन भएको छ ।

कास्कीको याङ्जाकोटमा ३,४३१.८ मिलिमिटर र सिन्धुपाल्चोकको मेलम्ची–घ्याङमा ३,२४०.४ मिलिमिटर वर्षा भएको छ ।

मनसुन अवधिमा सर्वाधिक वर्षा मापन भएका प्रमुख पाँच केन्द्र

१. गोब्रे सिन्धुपाल्चोक– ४,०५०.८ मिमि

२. लुम्ले, कास्की – ३,८७३.४ मिमि

३. भुजुङ, लमजुङ –  ३,६११.२ मिमि

४. याङ्जाकोट,कास्की– ३,४३१.८ मिमि

५. मेलम्ची–घ्याङ, सिन्धुपाल्चोक– ३,२४०.४ मिमि

चामे र तालगाउँमा उच्च वर्षा, सिमिकोटमा २४ घण्टामै रेकर्ड ब्रेक  

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले हिमाली जिल्लाहरुमा पनि राम्रो वर्षा भएको रेकर्ड छ । हुम्ला सदरमुकाम सिमिकोटमा २४ घण्टामै रेकर्ड ब्रेक वर्षा भएको थियो ।

असोज ९ गते बिहान ८:४५ बजेदेखि १० गते बिहान ८:४५ बजेसम्मको अवधिमा सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको थियो ।

यो सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टा अवधिको सबैभन्दा उच्च वर्षा रहेको मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलले जानकारी दिइन् ।

उनका अनुसार सिमिकोटमा यसअघि १९ अक्टुबर २०२१ मा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको र त्यसैलाई उच्च रेकर्ड मानिने गरिएको थियो ।

मनाङको चामे र तालगाउँमा पनि ३ दिनमै करिब ३०० मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यहाँको भूगोलका लागि यो भीषण वर्षा भएको मौसमविद विनोद पोखरेल बताउँछन् ।

समग्र वर्षाको मात्रा सामान्य देखिए पनि वर्षा हुने दिनको अवस्थालाई पनि यस वर्षको मनसुन मूल्यांकनमा महत्वपूर्ण मानिएको छ । सामान्यभन्दा बढी वर्षा भएका दिनको संख्या धेरै नभए पनि लगातारजसो थोरै–थोरै वर्षा भइरहने अवस्था देखिएको मौसमविद बख्रेल बताउँछन् ।

यस वर्ष तापक्रमको अवस्था पनि समग्रमा सामान्यभन्दा माथि गएको हुन सक्ने उनले बताए । यद्यपि तापक्रमसम्बन्धी विस्तृत तथ्यांक विश्लेषण भने आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार ००:००