Breaking News Post

पोखरामा स्कुल बस दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत


२३ आश्विन २०८३, शुक्रबार ००:००


२३ असोज, पोखरा । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटनामा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्का एकजना मृतक अन्दाजी १५ वर्षीय महिलाको परिचय खुल्न बाँकी छ ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस आज बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किंदै गर्दा ओख्लेभीर भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परेकाहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कुल १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामै ल्याइएको थियो । बाँकी १२ जनाको उपचार जारी छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् ।

अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री छन् ।

यसैगरी १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार ००:००