Breaking News Post

प्रहरी सरुवामा किन भइरहेको छ विलम्ब ?


२१ आश्विन २०८३, बुधबार ००:००


२१ असोज, काठमाडौं । प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुसार सामान्यतया कमान्ड सम्हालेको एक वर्षको अवधिमा सिनियर प्रहरी अधिकारीको सरुवा हुन्छ ।

जिल्ला प्रहरी प्रमुखदेखि गण तथा ट्राफिक प्रमुख, प्रदेश प्रमुख, तालिम केन्द्र प्रमुख वा अन्य प्रहरी इकाइमा सिनियर अफिसरले कमान्ड गरेको एक वर्ष पुगेपछि ती अधिकारीहरूको सरुवा गरिन्छ ।

उनीहरूको ठाउँमा नयाँ प्रहरी कमान्डका लागि पठाइन्छ । तर अहिले नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि, डीएसपी, एसपी केही एसएसपी सरुवा एक वर्ष अवधि पुगिसक्दासमेत हुन सकेको छैन । १३/१४ महिनासम्म सिनियर प्रहरी अधिकृतहरूले कमान्ड सम्हालिरहेका छन् ।

गत ३१ भदौमा मात्रै ४८ एसपीको सरुवा गर्दै नयाँ कमान्डको रूपमा जिल्लादेखि गणहरूमा पठाइएको थियो । उनीहरूले कमान्ड सम्हालेको १३ महिना पुग्न लागिसक्यो । तर अहिलेसम्म सरुवा गरेर नयाँ एसपी कमान्डरको रूपमा पठाउन प्रहरी प्रधान कार्यालयले सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले बाँके, मोरङ, तनहुँ, भक्तपुर, कास्की, कैलाली, उदयपुर, दाङ, पूर्वी नवलपरासी लगायतका जिल्लामा नयाँ एसपी पठाउन सकेको छैन ।

नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १, रुपन्देहीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, धनुषास्थित मधेश प्रदेश प्रहरी गण, मकवानपुरस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण रातामाटे, नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर र तनहुँस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणका गणपति एपीको पनि एक वर्ष अवधि पुगिसकेको छ । तर सरुवा हुन सकेको छैन ।

एसपी जस्तै डीएसपीको अवस्था पनि उस्तै छ । इन्चार्ज भएर काम गरेको एक वर्ष भइसक्दा पनि डीएसपीहरूको सरुवा हुन सकेको छैन । पहाडी जिल्लाहरूका इन्चार्जदेखि इलाका इन्चार्ज उपत्यकाका वृत्त प्रमुख डीएसपीहरूको एक वर्ष अवधि पुगिसक्दा पनि सरुवा हुन सकेको छैन ।

दार्चुला, डडेल्धुरा, मुगु, प्युठान, कालिकोट, पाँचथर लगायतका जिल्लामा इन्चार्ज डीएसपीहरूको एक वर्ष अवधि पुगिसक्दा सरुवा हुन सकेको छैन ।

एसपीसम्मको सरुवा अधिकार प्रहरी नियमावलीले आईजीपीलाई दिएको छ । नियमावलीले नै दिएको अधिकार प्रयोग गरेर आईजीपी एकलको निर्णयमा सरुवा गर्ने अधिकार भए पनि मन्त्रालयको ग्रिन सिग्नल बिना एकल निर्णयमा सरुवा नहुने परिपाटी प्रहरी संगठनमा पुरानै हो ।

समयमै सरुवा नहुँदा वृत्ति विकासमै असर पर्ने जानकारहरू बताउँछन् । कसैलाई चार वर्ष एउटै थानामा राख्यो भने भोलि गण वा हेडक्वार्टर सरुवा हुँदा त्यहाँको कामको अनुभव नहुने हुँदा वृत्ति विकास नतिजामा समेत असर पर्ने जानकारहरूको भनाइ छ ।

यसमा नेतृत्व तयारीको विषय पनि जोडिएर आउँछ । जसले सबै प्रकारका जबहरूबारे राम्रो जानेको हुन्छ, उसले सबै प्रकारका चुनौती सामना गर्न सक्षम हुने भएकाले पनि नियमित सरुवालाई वैज्ञानिक मानिन्छ ।

सरुवालाई प्रशासनिक कोणबाट ‘डिस्ट्रिब्युसन अफ इक्वल अपरच्युनिटी’ को रूपमा हेरिन्छ । अर्थात्, सबै कर्मचारीलाई समान अवसर । समयमै र पारदर्शी सरुवा हुँदा सबैले समान प्रकृतिको अवसर पाउने भएकाले पनि नियमित सरुवा हुनुपर्ने प्रहरीको प्रशासनबारे जानकाहरूको बुझाइ छ ।

प्रवक्ता भन्छन्– चाँडै सरुवा निस्कन्छ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले जतिसक्दो चाँडो सरुवा निकाल्ने गरी काम भइरहेको बताउँछन् ।

‘सामान्यता एक वर्षको अवधिमा सरुवा निकाल्ने भन्ने हो । कहिलेकाहीँ विविध कारणले तलमाथि हुन्छ । हामी चाँडै निकाल्ने तयारीमा छौं,’ प्रवक्ता काफ्लेले अनलाइनखबरसँग भने ।

अहिले भोटेकोशीमा आएको बाढीका कारण खोज तथा उद्धारमा ठूलो जनशक्ति केन्द्रित हुनुपर्दा पनि सरुवामा केही विलम्ब भएको उनको तर्क छ ।

‘अहिलेसम्म पनि बाढीको खोज तथा उद्धारमा जनशक्ति केन्द्रित भएकाले सरुवामा केही ढिलाइ भएको हो । अवधि पुगेकाहरूको चाँडै सरुवा हुन्छ,’ उनी भन्छन् ।

तर, सरुवामा विलम्ब हुनुमा प्रवक्ता काफ्लेले भने जस्तो मात्रै कारण नरहेको प्रहरी अधिकारीहरूको नै बुझाइ छ । विशेषगरी जिल्ला कमान्डहरू को कहाँ जाने भन्ने विषयमा अहिलेसम्म टुंगो लाग्न नसक्दा सरुवामा विलम्ब भएको छ ।

प्रकाशित : २१ आश्विन २०८३, बुधबार ००:००