गृह पृष्ठ

बाढी पीडितहरूको उद्धारमा खटिने १३ जना प्रहरीहरूलाई पुरस्कारका साथ सम्मान


११ भाद्र २०८१, मंगलबार ००:००


सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेको बाढी पहिरो उद्धार कार्यमा खटिने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सम्मान गरेको छ । बाढी पीडितहरूको उद्धार कार्यमा सक्रिय रूपमा खटिने १३ जना प्रहरीहरूलाई कार्यालयले विशेष पुरस्कारका साथमा सम्मान गरेको हो ।

उद्धार कार्य, राहत वितरण, सूचना सम्प्रेषण गर्न महत्त्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै नागरिकको शान्ति सुरक्षाका लागि जिम्मेवार रहेर काम गरेको उच्च मूल्याङ्कन गर्दै कार्यालयले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन ।

कार्यालयले प्रहरी सहायक निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक पुर्न श्रेष्ठ र खेमराज खतिवडा लगायत १३ जना प्रहरीलाई सम्मान गरिएको हो । यस्तै प्रहरी वरिष्ठ हवलदार १ जना, प्रहरी हवलदार ३ जना, प्रहरी सहायक हवलदार २ जना र प्रहरी जवान ४ जनालाई सम्मान गरिएको प्रनाउ घिमिरेले बताएका छन ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन साथै आगामी कार्यहरूका लागि प्रोत्साहन स्वरूप विशेष पुरस्कारका साथ सम्मान गरिएको उहाँको भनाइ रहेकोछ । खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर बाढी गएको थियो । थामे बाढीमा उद्धार तथा राहत वितरण कार्यमा सोलुखुम्बु प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलबार ००:००