समाचार

भूकम्पको जोखिमसँग जुध्न अन्तर्राष्ट्रिय पूँजीबजारमा बन्ड जारी गर्दै नेपाल


२९ आश्विन २०८३, बिहिबार ००:००


२९ असोज, काठमाडौं । विपद्को उच्च जोखिममा रहेको नेपाल भूकम्पबाट हुनसक्ने सम्भावित क्षतिविरुद्ध जुध्न अन्तर्राष्ट्रिय पूँजीबजारमा जोडिने भएको छ । विश्व बैंकसँगको सहकार्यमा नेपालले त्यस्तो क्षतिमा आपतकालीन वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजीबजारमा ऋणपत्र (बन्ड) जारी गर्ने तयारी थालेको हो ।

थाइल्यान्डको बैंकमा जारी विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठक (एनुअल मिटिङ्स)का क्रममा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंकका उपाध्यक्ष जर्ज फ्यामिलियरबीच यस सम्बन्धी सम्झौता भएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले विश्व बैंक ‘भूकम्प क्याटास्ट्रोफी बन्ड’ (क्याट बन्ड) सम्झौता गर्न स्वीकृति प्रदान गरेको थियो । दुई पक्षबीच भएको सम्झौताअनुसार बन्ड जारी हुन सफल भयो भने यस्तो औजार प्रयोग गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक हुनेछ ।

 

भुकम्पीय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानी सम्बोधनका लागि शीघ्र वित्तीय स्रोत जुटाउन सकियोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बन्ड विकास गर्नेगरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस सम्झौता अन्तर्गत विश्व बैंक समूहको ट्रेजरी विभागले नेपाल सरकार र अन्तर्राष्ट्रिय पूँजीबजारमा रहेका लगानीकर्ताहरूसँग सहकार्य गरी क्याटास्ट्रोफी बन्ड विकास र जारी गर्न वित्तीय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोखा गर्ने जनाइएको छ ।

विश्व बैंक समूहले क्याटास्ट्रोफी बन्ड कार्यक्रममार्फत सन् २००९ देखि नै विश्वका विभिन्न देशका लागि यस्तो बन्ड जारी गर्दै आएको छ । यस कार्यक्रमले विभिन्न देशहरूलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोप विरुद्ध वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पूँजीबजारमा पहुँच पुर्‍याउन सहयोग गर्दै आएको छ ।

क्याट बन्ड के हो?

क्याटास्ट्रोफी बन्ड भूकम्प, आँधीबेहरीजस्ता प्राकृतिक विपद्को वित्तीय जोखिम अन्तर्राष्ट्रिय पूँजीबजारका लगानीकर्ताहरूमा हस्तान्तरण गर्ने एक विशेष प्रकारको धितोपत्र हो । यसले बीमा जस्तै काम गर्छ ।

सामान्यतया, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारले बजेट आफ्नै बजेट खर्च गर्नुपर्ने वा थप ऋण लिनुपर्ने बाध्यता हुन्छ । तर, क्याट बन्डले देशको ऋणभार बढाउँदैन । बरु विपद्लगत्तै तत्काल आवश्यक पर्ने नगद प्रवाह उपलब्ध गराउँछ ।

विश्व बैंकले ‘क्यापिटल एट रिस्क नोट्स’ कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय बजारमा यस्तो बन्ड जारी गर्छ । विश्वभरिका संस्थागत लगानीकर्ता र आईएलएस फन्ड (इन्स्योरेन्सी लिंक्ड सेक्युरिटिज) हरूले यो बन्ड खरिद गरी पूरा जमानतसहितको पूँजी जम्मा गर्छन् ।

यस्तो बन्डको अवधिभर नेपालले निश्चित जोखिम प्रिमियम भुक्तानी गर्छ । वास्तवमा यो बीमाको प्रिमियम भुक्तानी गरेजस्तै हो । सम्झौता अवधिभर तोकिएको मापदण्डको भूकम्प गएन भने लगानीकर्ताहरूले आफ्नो साँवा रकम र प्रतिफल फिर्ता पाउँछन् ।

तर, तोकिएको मापदण्ड अनुसारको भूकम्प गएमा लगानीकर्ताको साँवा रकम कट्टा भई सो रकम नेपालले क्षतिपूर्तिको रूपमा प्राप्त गर्छ ।

परम्परागत बीमा भन्दा यो कसरी फरक हो ?

परम्परागत बीमाबाट क्षतिपूर्ति पाउन क्षति कति भयो भनेर भौतिक मूल्याङ्कन गर्नुपर्छ, जुन कामका लागि महिनौं लाग्छ । तर क्याट बन्ड प्यारामेट्रिक ट्रिगरमा आधारित हुन्छ, अर्थात् भूकम्पको म्याग्निच्युड तथा भूकम्पीय कम्पनको तीव्रताका आधारमा क्षतिपूर्ति दिइन्छ ।

कति रकम प्राप्त हुन सक्छ ?

नेपालका लागि अहिले विश्वबैंकले ८ करोड अमेरिकी डलर (करिब सवा १२ अर्ब रुपैयाँ) देखि १९ करोड अमेरिकी डलर (करिब २९ अर्ब रुपैयाँ) सम्मको जोखिम हस्तान्तरणको ढाँचा तयार पार्दै छ ।

२० वर्षमा एकपटक आउनसक्ने भूकम्पका लागि करिब ८ करोड अमेरिकी डलर क्षतिपूर्ति पाउने र १०० वर्षमा एकपटक आउन सक्ने महाभूकम्पका लागि १९ करोड अमेरिकी डलरसम्म पाउने गरी ढाँचा तयार पार्न लागिएको स्रोतले बताएको छ ।

बन्ड जारी भएपछि भूकम्प गएको केही हप्ताभित्रै नेपालको खातामा सिधै नगद प्राप्त हुन्छ, जसले आपतकालीन राहत र पुनर्निर्माणमा ठूलो सहयोग पुर्‍याउँछ ।

नेपालका लागि यो बन्ड तयार पार्न प्रारम्भिक अध्ययनका लागि नेपालले विश्वबैंकलाई ३ लाख अमेरिकी डलर अर्थात् करिब ४ करोड ६० लाख बुझाउनुपर्ने र त्यसभन्दा कम खर्च भए बैंकले नेपाललाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ।

यो रकम विश्व बैंकले बाह्य कानुनी सल्लाहकार र जोखिम मोडलिङ फर्मको खर्चका लागि मात्रै खर्च गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा प्यारामेट्रिक क्याट बन्ड विपद् व्यवस्थापनमा प्रभावकारी साबित भएको देखाउँछ । अक्टोबर २०२५ मा आएको ‘मेलिसा’ आँधीले जमैकालाई क्षति पुर्‍याउँदा उसले प्यारामेट्रिक क्याट बन्डबाट केही हप्ताभित्रै १५ करोड डलर भुक्तानी पाएको थियो । जमैकाले हालै २० करोड डलरको तेस्रो क्याट बन्ड जारी गरेको छ।

मेक्सिकोले वर्षौंदेखि विश्व बैंक मार्फत भूकम्प र आँधीबेहरीविरुद्ध ५९ करोड ५० लाख डलरसम्मको प्यारामेट्रिक क्याट बन्ड कायम राख्दै आएको देखिन्छ ।

सन् २०१५ को विनासकारी भूकम्पले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब एक–तिहाइ बराबरको क्षति पुर्‍याएको थियो । त्यसपछिको पुनर्निर्माणका लागि मुलुकले विश्वबैंकलगायतबाट ठूलो मात्रामा ऋण लिनुपरेको थियो ।

 

प्रकाशित : २९ आश्विन २०८३, बिहिबार ००:००