सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकाले पञ्चबर्षीय आवधिक योजना निर्माणका लागि गाउँपालिकाले झण्डै दुई महिना अघिबाट सुरु गरेको प्रक्रिया सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष तथा आवधिक योजना निर्माण निर्देशक समितिका संयोजक बुद्धिकिरण राईको अध्यक्षतामा बिहिवार सम्पन्न बैठकले आवधिक योजना निर्माण सम्पन्न गरेको हो ।
राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन अनुसारका विभिन्न चरणहरु पार गर्दै तयार गरिएको आवधिक योजनामा ‘पर्यटन र कृषि समुन्नत र खुसी माप्य दुधकोशी’ भन्ने मूल नारा तय गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो।
अध्यक्ष राईको भनाई अनुसार पञ्चबर्षीय आवधिक योजना निर्माण गर्दा सम्भावनाका आधारमा पर्यटन र कृषिलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आफुले गाउँपालिकाको नेतृत्व सम्हाले यता स्वरोजगारी र समृद्धिको सम्भावना देखेरै दीर्घकालीन सोचसहित पर्यटन र कृषि क्षेत्रलाई अर्जुनदृष्टि दिएको बताउंदै अध्यक्ष राईले सिमित श्रोतसाधनबाट निर्माण गरिएको त्यसको जगलाई दरिलो बनाएर अघि बढ्न निर्माण सम्पन्न भएको आवधिक योजनाले अझ बल पु¥याउने बिश्वास व्यक्त गर्नुभयो ।
प्राथमिकीकरण गरिए अनुसार विभिन्न क्षेत्रको योजनाबद्ध विकासबाटमात्र लक्षित उपलब्धि हासिल गर्न सकिने भएका कारण आवधिक योजनाको तर्जुमा गरिएको हो।आवधिक योजनामा निर्धारण गरिएको प्राथमिकताका क्षेत्रसहित अन्य आर्थिक,भौतिक र सामाजिक क्षेत्रको बिकासका लागि झण्डै २ अर्व ३९ करोड बजेट आवश्यक हुने अनुमान गरिएको अध्यक्ष राईले बताउनुभयो।
पालिकाभित्रका सम्पूर्ण वडामा सम्पन्न भेलामा भएका छलफलका आधारमा विभिन्न पांचवटा बिषयगत समितिले दिएको सुझाव र निर्देशक समिति अन्तर्गतको प्राविधिक समितिको बिश्लेषणसहितको प्रस्तुतिकरणपछि विभिन्न सूचकहरुको विश्लेषण, गाउँपालिकाको वस्तुस्थिति, सवल–दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि आवधिक विकास योजना निर्माण गरिएको समेत जानकारी दिनुभयो।











प्रतिक्रिया