काठमाडाैँ,मुक्कुमलुङले एक विज्ञप्ती सार्वजनिक गरेकाे छ । मुक्कुमलुङलाई अतिक्रमण हुन नदिन मुन्धुमीस्थलको रुपमा संरक्षण,प्रवर्द्धन, विकास र व्यवस्थापन र नियन्त्रण गर्न मुक्कुमलुङ छोड आन्दोलनकाे लागी सुचना निकालिएकाे हाे। मुन्धुमको विकाससंगै हजारौ वर्षदेखि दैविक, आध्यात्मीक शक्ति भएको स्थलको रुपमा मौखिक परम्परावाट पुकार्दै, व्याख्या हुँदै आएको मुक्कुमलुङ (सेमुक्ति वुङ, सेमुक्तिफो माङ) एक महत्वपूर्ण साँस्कृतिक, आध्यात्मीक पवित्र आस्थाको स्थल मानिन्छ ।
मुन्धुम अनुसार मुक्कुम्लुङ युमामाङले विचरण गरेको, तान बुनेर सभ्यता सिकाएको पवित्र भूमी हो । त्यसैले यसलाई मुक्कुमलुङ युमामाङ देवस्थल भनिन्छ । मुन्धुम मान्नेहरूले युमामाङलाई शक्तिशाली इष्टदेवीको रुपमा मान्ने भएकाले प्रत्येक घर घरमा युमाथान राखेर पूजा गर्ने प्रचलन आजपर्यन्त छदैछ । मुन्धुमी मूल्य मान्यता अनुसार मन्दिर, मस्जिद, गुम्बा जस्तो स्थायी संरचना नबनाउने, प्राकृतिक रुपमा मान्ने प्रचलन भएको तर दैविक शक्ति भएको शक्तिशाली मुक्कुमलुङको रुपमा मान्दै, पुकार्दै ल्याएको आस्थाको पुज्य भूमि हो ।
मुक्कुमलुङ क्षेत्रमा भेडाहरूले फोहोर गरेपछि मुक्कुमलुङ युमामाङले भेडा लुकाइदिएको र सपनामा सफासुघर भएर धुप धुँवार गरेपछि भेडा निकाली दिएपछि पाथिभराको उत्पत्ति भएको भन्ने भ्रमपूर्ण इतिहास छ । जवकि मुन्धुममा मुक्कुमलुङको शक्ति पत्ता लगाएर पुकार्दै मान्दै आएको इतिहास हजारौ वर्षको छ । मुक्कुमलुङ युमामाङले मुक्कुमलुङ क्षेत्रमा फोहोर मैला गर्ने भेडा चराउनेलाई दैविक शक्ति देखाएको धेरै घटनाहरूमध्ये एक घटना मात्र हो ।
पापकर्म गर्ने व्यक्तिहरूलाई मुक्कुमलुङको दर्शन नमिल्ने, मुक्कुमलुङ आसपासमा वाढिपहिरो जाने, आगोलागी हुने, हावाहुण्डरी, चट्याङ पर्ने जनधनको क्षति हुने जस्ता अनिष्टका अनेकौ घटनाहरू छन् । राणाशासन, पञ्चायती निरंकुश शासनताका दैविक शक्ति भएको मुक्कुमलुङ देवस्थललाई पाथिभरा भनेर अतिक्रमण सुरु गरे । लोकतन्त्रमा लोकतान्त्रिक राज्य, राजनीतिक दलहरूले निरन्तरता दिदै पाथिभरा क्षेत्र विकास समिति गठन गरेर २०५३ सालदेखि कानूनी रुपमा अतिक्रमण गर्दै लोकतन्त्रको उपहास गरिरहेका छन् ।
राज्य र स्थानीय नगरपालिका र गाउँपालिकाहरूले अन्यायको विरोध गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्नु दिनदहाडै मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चको निरन्तरता हो । सदियौदेखि मिलेर बसेको समाजलाई जबरजस्ती अन्यायलाई निरन्तरता दिएर भड्काउने, भाड्ने षडयन्त्र तत्काल बन्द गर्न चेतावनी दिदै विज्ञप्ति निकालिएकाे हाे। कालान्तरमा राज्यसत्ता र शक्तिको आडमा मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा बनाइएको, मुन्धुमवादीहरूको अनुमति, मञ्जुरी र स्वीकृतिविना त्यहाँ केबलकार बनाउन स्वीकृति दिने, मुक्कुमलुङ समाप्त गर्ने गुरुयोजना अन्तर्गत केवलकारलाई प्रमुख माध्यम बनाइएको मुन्धुमवादीहरूको ठहर छ । अतः मुक्कुमलुङलाई अतिक्रमण हुन नदिन मुन्धुमीस्थलको रुपमा संरक्षण, प्रवर्द्धन, विकास र व्यवस्थापन र नियन्त्रण गर्न मुक्कुमलुङ छोड आन्दोलन सुरुवात भएको घोषणा गरिएकाे हाे।
मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडानसहित विगत ६ वर्षदेखि आन्दोलनरत गर्दै आएको समितिकाे भनाइ रहेको छ । आन्दोलनका बाबजुद केबलकार निर्माण गतिविधि सञ्चालन भएपश्चात २०८१ असार ५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफलबाट सहमति नभई मुक्कुमलुङमा केबलकार निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौता उल्लंघन भएको थियाे ।
सरकारी र ब्यापारिक समूहबाट बलमिच्याइ गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबलकार निर्माण गर्न दलबलसहित गएको र न्यायका लागि लड्ने योद्धाहरूलाई पक्राउ गरेर थुन्नु अन्यायको पराकाष्ठा भएकाले अव उप्रान्त केवलकार निर्माण लाइसेन्स खारेज नभएसम्म आन्दोलन घोषणा गरेका छन । जसको लागि मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने ब्यापारिक कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ छोड्न ७ दिने अल्टिमेटम दिएका छन ।
अल्टिमेटम बमोजिम नगरे – नभएमा केबलकार पक्ष र सरकार मुन्धुमी स्थललाई समाप्त गर्ने गरी असहिष्णु भएको ठहर गर्दै २०८१ भदौ २४ गतेदेखि केबलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फुङ्लिङ बजारदेखि तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन । साथै न्यायको लडाइँमा सहयोग गर्न यो अवधिमा मुक्कुम्लुङको दर्शन नगर्न नगराउन सम्बन्धित सबैलाई आव्हान गरेका छन ।
प्रतिनिधिमूलक संस्थाहरू
१. श्री श्री प्रसाद लिम्बु, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति
२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति
३. श्री प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति
४. श्री नन्द कन्दङवा, संहयोजक, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह
५. श्री प्रेम येक्तेन, संयोजक, प्रदेश नंं.१ प्रदेश पुनःनामाङ्कन संयुक्त संघर्ष समिति
६. श्री रामभक्त कुरुम्बाङ, महासचिव, प्रदेश नंं.१ प्रदेश पुनःनामाङ्कन अभियान समिति
७. श्री सरस्वता सिङ्गक (सरु), प्रतिनिधि, मुक्कुम्लुङ तान्सेहःप् चुम्भो











प्रतिक्रिया