काठमाडौं, युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि प्रतिबन्ध लगाएको छ । ईयूले प्रत्येक वर्ष अद्यावधिक गर्ने ‘ईयू सेफ्टी लिस्ट’ मा नेपालका हवाईजहाज र हेलिकप्टर सेवा प्रदायक सबै कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
ईयूले सेफ्टी लिस्टमा नेपालका सबै वायुसेवालाई राखे पनि हाल कुनै पनि वायुसेवाले त्यहाँ उडान गरेका छैनन् । यहाँ दुई अन्तर्राष्ट्रिय वायुसेवा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स पनि युरोपका कुनै गन्तव्यमा जाँदैनन् ।
यो लिस्टमा पर्नु भनेको युरोपको आकाशमै प्रवेश गर्न नपाउनु हो । यसबाट चार्टर उडानमा जाँदा पनि समस्या पर्न सक्छ । ईयूले करिब ११ वर्षदेखि नेपालका सबै वायुसेवालाई आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाउँदै आएको छ ।
ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।
कुन–कुन देश छन् कालोसूचीमा?
यसपटक तान्जिनियालाई पनि ईयूले यो सूचीमा समावेश गरेको छ । युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा एजेन्सी ९ईएएसए० को सुरक्षा चासोका आधारमा तान्जिनियालाई यो सूचीमा समावेश गरिएको आयोगले जनाएको छ । यसपटक पाकिस्तानको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई भने यो सूचीबाट हटाएको उल्लेख गरिएको छ ।
अद्यावधिक विवरण अनुसार १५ देशका १२९ एयरलाइन्स कम्पनी युरोपेली आकाशमा प्रतिबन्ध हुने सूचीमा छन् । यसमध्ये रसियाका २२ एयरलाइन्स, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरान असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेज समेत छन् ।
ईयूले सार्वजनिक गरेको ग्रे–सूचीमा अङ्गोलाको सातवटा एयरलाइन्सलाई यो सूचीमा राखिएको छ भने सोही देशका दुई एयरलाईन्सलाई भने यो सूचीमा राखिएको छैन । त्यस्तै, अफगानिस्तानका २, अर्मेनियाका ९, कंगोका १७, जिबुटीको एक, इक्वेटरीय गिनी २, इरिट्रिया २, किर्गिस्तान १४, नेपालको २०, साओ टोमे र प्रिन्सिपको १ र सुडानको १२ वटा एयरलाइन्स अहिले यो सूचीमा छन् ।
लाइबेरिया र सिएरा लिओनका एयरलाइन्स कम्पनीहरुलाई समेत यो सूचीमा समावेश गरिएको छ । त्यस्तै, इरानको एयर इरान र उत्तर कोरियाको एयर कोरियोमाथि समेत विशेष प्रकारका विमान मात्रै उडान गर्न सक्नेगरी प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ ।











प्रतिक्रिया