हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा भदौ ९ गते २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्या भएकाे थियाे । हेटौंडा–११ थानाभर्याङकी न्यौपानेको शव भदौ १० गते मात्रै होटलको कोठा नम्बर २०५ मा फेला परेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।‘अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन मिल्दैन, तर घटनामा संलग्नको पहिचान भएर उनको खोजी भइरहेको डीएसपी भण्डारीले बताएका छन ।
प्रहरीले ती युवकको परिचय नखुलाए पनि एलिसाका परिवारले भने हेटौंडा–४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाएका छन । हाल समीर फरार रहेका छन् । परिवारका अनुसार एलिसा र समीर ७/८ वर्षदेखि श्रीमान् श्रीमतीका रूपमा बस्दै आएका थिए ।
एलिसाको हत्या भएको दुई दिन पछिसम्म अर्थात् ११ भदौसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको पाइएको छ । जसमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको एलिसाको परिवारले जनाएका छन । ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं’ उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन् ।
आरोपित खानले होटलमा पुगेपछि सुरुमा राम्रो कुराकानी भएको र पछि पुराना कुरा निस्किएर झगडा परेको बताएका छन् । ‘दुवै जनाबाट हात हालाहाल भयो, हान्दाखेरि ज्यान गयो । मैले कति उठाउन खोजें तर ज्यान गइसकेको रहेछ’, खान र एलिसाको भाइबीच भएको कुराकानीबारे परिवारले भनेका छन ।
परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही दिन उनको हत्या भएको थियो । घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीं लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो ।
अडियो र भिडियोका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेर समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरिसकेको डीएसपी भण्डारीले जानकारी दिए । ‘त्यो भिडियोका विषयमा पनि आरोपितको आमा र श्रीमतीलाई ल्याएर सोधपुछ भइसकेको छ’, उनले भने, ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्छौं ।’
समीर–एलिसा सम्बन्ध ?
एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन् भने बाबुको मृत्यु भएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरुलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गरेका थिए । १५ वर्षको उमेरमै एलिसाले समिरसँग भागेर विवाह गरेको खत्रीले बताए । ‘१५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । बिहे गरेपछि मेरो घर २–३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन’, खत्रीले भने ।
समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको कुरा एलिसालाई जानकारीमा नभएको खत्रीको दाबी छ । समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि खत्रीले बताए । तर पछि सम्बन्ध बिग्रिएपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे भने एलिसा दुबई गएकी थिइन् ।
एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् । ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो । अब मेरो भन्नु कोही छैन । दोषीलाई कडा कारबाही हुनुपर्छ’, उनका भाइ भन्छन् । उनी हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् ।











प्रतिक्रिया