Breaking News Post

रास्वपाको सहमहामन्त्री पदबाट सुमनाले दिइन् राजीनामा


४ बैशाख २०८२, बिहिबार ००:००


काठमाडौँ, प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताए लगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

सभापति लामिछानेको पार्टी पुनर्संरचना गर्ने चाहनालाई सहयोग पुर्‍याउन सुमनाले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

सुमनाले भने राजीनामाबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । श्रोतका अनुसार आज बिहीबार बस्ने बैठकमा उनले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् । अघिल्लो बैठकमा पार्टी सभापति लामिछानेले पार्टीमा पुनर्संरचना आवश्यक छ भनेर भन्नुभएको थियो ।

त्यसमा सुमनाजीले एक पद एक व्यक्तिको प्रस्ताव ल्याउनु भएको हो’, झाले भने, ‘विधायिकी भूमिकामा अझै बढी केन्द्रित हुनका लागि यताको भूमिकाबाट उहाँले छुट्टी लिनुभएको हो, यो पोजेटिभ हो ।

प्रधानमन्त्री सरकार प्रमुख र सबै विश्वविद्यालयको उपकुलपति समेत भएर बस्ने अवस्थामा सरकार र विश्वविद्यालय दुवै राम्रो चलाउन नसकेको अवस्थामा सुमनाले उदाहरण प्रस्तुत गरेको झाको भनाइ छ ।

रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको पार्टी पुनर्संरचनाको चाहनालाई सहयोग पुर्‍याउन अन्य पदाधिकारी र विभागीय प्रमुखहरूले समेत राजीनामा दिने तयारी गरेका छन् । ‘अरू पदाधिकारी र केही विभागीय प्रमुखले पनि यस्तो तयारी गरेका छन्’, स्रोतले भन्यो, ‘अरू को को हुन् भन्ने चाहिँ केन्द्रीय समिति बैठकपछि मात्र थाहा होला ।’

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार ००:००