ताजा घटना

रुसले विजय दिवस मनाउन मस्कोमा भव्य सैन्य परेड आयोजना


२७ बैशाख २०८२, शनिबार ००:००


रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ । उक्त परेडको शुभारम्भ रुसी राष्ट्रिय झण्डाबाट गरिएको थियो । कार्यक्रममा १३ मित्र राष्ट्रका सैन्य टोलीहरूले सहभागिता जनाएका थिए भने २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूले आफ्नो उपस्थिति जनाए ।

समारोहलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसलाई राष्ट्रको गौरव, बलिदान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा स्मरण गरे । उनले द्वितीय विश्वयुद्धको यथार्थ इतिहासको संरक्षणको आवश्यकता औँल्याउँदै त्यसलाई विकृत गर्न खोज्ने प्रयासहरूलाई दृढतापूर्वक अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति पुटिनले मित्र राष्ट्रहरूका सैनिक, प्रतिरोध आन्दोलनका सदस्यहरू, चिनियाँ जनताको अद्भुत साहस र योगदानप्रति विशेष कृतज्ञता प्रकट गरे । रुसी सेनाका कमान्डर जनरल ओलेग साल्युकोवको नेतृत्वमा सम्पन्न परेडमा ११ हजार भन्दा बढी सैन्यकर्मी तथा १८३ थान सैन्य उपकरणहरूको प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा ऐतिहासिक टी–३४ ट्याङ्क,यार्स अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली, टोर्नाडो–एस रकेट प्रणाली, एस–४०० वायु सुरक्षा प्रणालीका साथै ल्यान्सेट र गेरान ड्रोनहरू समावेश थिए । समारोहपश्चात राष्ट्रपति पुटिन तथा सहभागी विदेशी अतिथिहरूले अलेक्जेन्डर गार्डेनस्थित अज्ञात सैनिकको समाधिमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरे ।

प्रकाशित : २७ बैशाख २०८२, शनिबार ००:००