ताजा घटना

रौतहटमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु


५ बैशाख २०७९, सोमबार ००:००


रौतहटमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग देवाहीगोनाही नगरपालिका ४ स्थित पटेलचौक र इमलियाटोलबीच सडकखण्डमा आइतबार राति १० बजे दुई मोटरसाइकल जुध्दा बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ४ का २२ बर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मौलापुर बाट जयनगरतर्फ जाँदैगरेको बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३९ एफ ५००३ नम्बरको मोटरसाइकल उक्त स्थानमा जुधेको थियो ।दुर्घटनामा परेर अचेत भएका यादवलाई उपचारको लागि गरुडास्थित अस्पतालमा पठाउँदा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । मृतक यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।
दुर्घटनामा समान्य घाइते भएका भारत बिहारका १६ बर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विकासलाई नियन्त्रण लिएर घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।
अर्को मोटरसाइकल चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाहिगोनाहीले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार ००:००