गृह पृष्ठ

लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते


१९ आश्विन २०८१, शनिबार ००:००


काठमाडौं, काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ । बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।

उनको सनाखत नभएको प्रहरीले जनाएको छ । यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा-छहरे सडक प्रयोग गर्ने गरेका छन् । आज दुर्घटना भएको गाडी पनि टोखा-छहरे सडक प्रयोग गरेर काठमाडौंबाट लमजुङ जाँदै थियो । उक्त गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १९ आश्विन २०८१, शनिबार ००:००