समाचार

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू प्रभावित


९ आश्विन २०८३, शुक्रबार ००:००


९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन् ।

वर्षाकै कारण केही जिल्लाहरूमा बाँकी रहेका पालिका अधिवेशनहरू पनि प्रभावित भएका छन् ।

प्राप्त सूचनाअनुसार अहिलेसम्म ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक, कास्की लगायतका जिल्लाहरूमा शनिबारका लागि तय भएका अधिवेशनहरू स्थगित गरिएको छ ।

ओखलढुंगाका जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद दाहालले शनिबार लागि निर्धारण गरिएका प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशना सम्पूर्ण कार्यक्रमहरू हालका लागि स्थगित गरिएको बताएका छन् ।

स्थगित अधिवेशनका आगामी कार्यक्रम तथा नयाँ मितिसम्बन्धी आवश्यक निर्णय पछि गरिने जारी सूचनामा उल्लेख छ ।

भोजपुरका जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले सूचना जारी गरेर भोजपुर नगरपालिका अधिवेशन र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

यस्तै रामेछापका निर्वाचन अधिकृत रौनिकराज अर्यालले शनिबारका लागि तय भएको अधिवेशन वर्षाका कारण स्थगित गरिएको जानकारी दिएका छन् । उनका अनुसार रामेछापमा १२ असोजमा बिहान ७ बजेदेखि क्षेत्रीय अधिवेशनहरू सुरु गरिने छ ।

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक–२ मा प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित भएको छ । क्षेत्रीय सभापति महेश खरेलले मौसमका कारण अधिवेशन स्थगित गरिएको बताएका छन् । उनले अधिवेशनका लागि अर्को सूचना प्रकाशन गरेर जानकारी दिइने बताए ।

त्यसैगरी कास्कीका निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले पनि क्षेत्रीय अधिवेशनहरू स्थगित गरेका छन् । केन्द्रीय निर्वाचन समितिको प्रेस विज्ञप्तिको आधारमा क्षेत्रीय अधिवेशन स्थगित गरिएको उनले बताए ।

निर्वाचन अधिकृत राजभण्डारीले १२ असोजमा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु गरिने पनि बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गरेर क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रमहरू आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरेर गर्न भनेको थियो ।

समितिले मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकूल रहेका क्षेत्रमा १३ असोजभित्र गरिसक्ने गरी अधिवेशनको आवश्यक व्यवस्था मिलाउन पनि जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

निर्वाचन समितिले पालिका अधिवेशन अन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको जनाएको छ । कांग्रेसले ३ असोजबाट महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू सुरु गरेको थियो ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार ००:००