काठमाडौं, चालु आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो ।
आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश उडेका थिए । तर, चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।
यो नौ वर्षअघिको संख्या भन्दा करिब ३० हजार बढी हो । ‘अझै आर्थिक वर्ष सकिन थप १५ दिन बाँकी रहेकाले यो संख्या साढे सात लाख नाघ्ने अनुमान छ,’ उहाँले भन्नुभयो । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा २ लाख ४ हजार श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए ।
त्यसपछि लगातार बढिरहेको विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७१/७२ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । नयाँ श्रम स्वीकति लिएर जानेको संख्यामा भने आर्थिक वर्ष २०७०/७१ मा रेकर्ड कायम भएको थियो । सो वर्ष ५ लाख २७ हजार ८१४ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।
तर, महाभूकम्प गएको आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८८७ जना नयाँ नयाँ श्रम स्वीकति लिए पनि पुनः श्रम स्वीकृति लिएर जानेको संख्या उच्च हुँदा कुल संख्यामा रेकर्ड बनेको थियो । सो वर्ष पुनः श्रम स्वीकति लिएर १ लाख ८० हजार १४५ जना विदेश जाँदा कुल ६ लाख ९३ हजार जना विदेश गएको तथ्यांकमा देखिन्छ ।
निराशा र बेरोजगारी
आर्थिक वर्ष २०७१/७२ पछि लगातार घटिरहेको वैदेशिक रोजगारीमा जानेको संख्या कोभिड–१९ महामारीपछि भने फेरि उकालो लागेको छ । वैदेशिक रोजगारविज्ञ डा. जीवन बानियाँका अनुसार संविधान बन्ने आशा रहेको समयसम्म विदेश जानेको संख्या सुस्त गतिमा मात्र बढेको थियो । तर, पहिलो संविधानसभाको संविधान नबनाई भएको विघटनले ल्याएको निराशाले विदेशिने युवाको संख्यामा ठूलो वृद्धि ल्याएको थियो ।
त्यसैकारण झण्डै ७ लाख युवा विदेशिएर आर्थिक वर्ष २०७१÷७२ मा नयाँ रेकर्ड कायम हुन पुगेको थियो । भूकम्पपछिको केही महिना विदेशिने क्रम उच्च दरमा बढेको थियो । ‘पुनर्निर्माणका काममा संलग्न हुने क्रमले विदेशिने क्रम पुनः घटायो’ विज्ञ बानियाँ भन्नुहुन्छ, ‘जब संविधान जारी भयो, संघीयता लागू भएपछि त स्थानीय तह र प्रदेशले रोजगारी सिर्जना गर्लान् भन्ने थियो, त्यसले धेरैलाई विदेशिनबाट रोकेको थियो ।’
त्यसकै कारण आर्थिक वर्ष २०७७÷७८ सम्म लगातारजसो विदेशिने युवाको संख्या घटिरह्यो । बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मलेसियाको रोजगारी रोकिनु पनि कारणका रूपमा रह्यो भने त्यसपछि महामारीले सतायो । अहिले महामारी साम्य भएको छ । पुनर्निर्माणले सिर्जना गरेको रोजगारी गुमेको छ ।
फेरि मलेसियाको रोजगारी खुलेको छ । यस्तो अवस्थामा युवाहरु विदेशमा श्रम गर्न जानुको विकल्प भेटिरहेका छन् । वैदेशिक रोेजगार मामिलाका जानकार मधुविलाश पण्डित देशभित्र १२ महिनामध्ये २ महिना पनि नियमित तबरको काम भेटन मुस्किल पर्नुले नै युवालाई विदेशमा धकेलेको बताउँछन् । ‘नेताहरुबीच सत्ताको लडाइँ छ, अर्थतन्त्र मन्दीमा छ, काम गरिखाने पनि चरम निराशा छन’, उहाँ भन्नुहुन्छ, ‘यस्तो बेलामा श्रमशक्ति पलायन हुनु स्वभाविक हो ।’











प्रतिक्रिया