गृह पृष्ठ

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौंमा


७ आश्विन २०८१, सोमबार ००:००


काठमाडौं, श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् । उनी भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन् ।

उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको स्रोतले बताएकाे छ । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।

याे पनि पढनुहाेसः

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् । रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताएका छन ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्‍याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् । १० दिने भ्रमणका लागि शनिबार चीन पुगेका रास्वपा सभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरु पनि आकस्मिक रुपमा स्वदेश फर्किन थालेका छन् । आइतबार राति रास्वपाले आफ्ना समर्थकहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आह्वान गरेको थियो । सो भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूले नबिराएकाले नडराउने बताएका थिए ।

प्रकाशित : ७ आश्विन २०८१, सोमबार ००:००