गृह पृष्ठ

सिंगापुर प्रहरीलाई नेपाल प्रहरीको जवाफी पत्र:आतङ्कवादी गतिविधिमा संलग्नको आशङ्का


२४ भाद्र २०८१, सोमबार ००:००


काठमाडौँ, नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।

डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो । तर, उनीहरू इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । ती अधिकृतले भने, ‘उनीहरूको संलग्नताबारे केही पनि देखिएन । त्यसबारे सिंगापुरलाई जवाफ पठाइसकेका छौँ ।’

घटना के थियो ?
कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे । एकपटक हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे । महेन्द्रजंग पनि सँगै थिए । त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न दिएन ।

हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएनन् । त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको खुलेको छ ।

मलेसियाले डिपोर्ट गरेपछि नेपाल फर्केका महेन्द्रजंगलाई काठमाडौँमा पक्राउ गरेर प्रहरीले अनुसन्धान पनि गरेको थियो । तर, अहिले उनीहरू तीनै जना कुनै पनि आतङ्कवादी गतिविधिमा संलग्न नरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्, ‘महेन्द्रजंग चाहिँ सिंगापुरको शंकाको घेरामा रहेछन्, अरूको केही देखिँदैन ।

याे पनि पढनुहाेसः

काठमाडौं, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् । सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्र मन्त्री राणालाई बोलाएको थियो ।

छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् । जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ’ उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्‌मा म अघि बढाउनेछु ।’

उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषद्‍मा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नुभएको छ ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार ००:००